रोल्पा, १९ भदौ । रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ की सम्झना रोकामगर ६६ वर्षको हुनुभयो । उमेरमा उहाँलाई तीज पर्व असाध्यै मन पर्दथ्यो, अहिले पनि उहाँ नयाँ नयाँ गीतहरु सुन्नमा चासो दिनुहुन्छ । वर्तमान समयमा पुरानो गीतहरु क्रमस गुञ्जिन छाडेको प्रति उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । पहिले हाम्रो पालाका गीतका शब्द शब्दमा जिवनका यथार्थ भोगाई लुकेको हुन्थ्यो,उहाँले भन्नुभयो, अहिले बजारमा आएका तीज गीतहरु त परिवारसँग बसेरै हेर्न नमिल्ने खालका आउन थाले ।, हाम्रा पालका सवै संस्कार संस्कृतिको त कुनै मुल्य नै रहेन ।
त्यस्तै सुनिलस्मृति गाउँपालिका ४ की सेतु पुन उमेरले ५५ वर्षकी हुनुभयो । उहाँलाई पनि अहिलेका तीज खासै मन पर्दैन् । चेलीहरुको महत्वपूर्ण पर्वको रुपमा लिने गरिन्थ्यो तीज तर अहिले तीज मनाउने शैलीमा परिवर्तन भएको देख्दा मलाई मन पर्दैन् । उहाँले भन्नुभयो,पहिले हाम्रो पालामा वर्षभरी भोगेका दुःख पिडाहरु गीतको माध्यमबाट प्रस्तुत गरिन्थ्यो । वर्षभरी जिवनमा घटेका घटनाहरुलाई गीतको माध्यमबाट प्रस्तुत गर्दा मनमा शान्तिको महसुश हुने गर्दथ्यो । हामीले पहिले मादल, बाँसुरी बजाएर गीतमा बुट्टा भरेर गाउने गर्दथ्यौं अहिले त ठुलाठूला डेग बजाएर नाच्ने गर्छन । हामीले त तीजको अघिल्लो दिन मात्र दर खाने गर्दथ्यो । अहिले त महिनौसम्म दरखान लागे अहिलेको तीज के अचम्म हो, मुस्कुराउदै उहाँले भन्नुभयो । परम्परागत रूपमा मनाइदै आइरहेको हिन्दु नेपाली नारीहरूको महान चाडका रूपमा तीज पर्वलाई लिने गरिन्छ । तीज पर्वको सामाजिक र धार्मिक रूपमा पनि बढी महत्व रहेको छ । माइती र चेली बिचको महत्वपूर्ण सम्बन्धको रूपमा पनि तीजलाई जोडिने गरिन्छ । विशेष गरि विवाह गरेर गएकी चेलीहरूको लागि तीज पर्वको विशेष महत्व रहने गर्दछ ।
गरिबलाई चाडपर्व मनाउन मुस्किल हुने अवस्था सिर्जना भएको छः अधिकारकर्मी
पहिलेको समय वर्ष दिनमा आउने तीजमा विवाह गरेर अर्काको घरमा गएकी चेलीलाई माइतीले लिन आएन भने मनमा ठुलो खाडल उत्पन्न हुने गर्दथ्यो । तर अहिलेको तीज त्यस्तो छैन् । तीजमा पश्चिमेली संस्कृतिका हाबी हुँदै गएको छ । समयको परिवर्तन सँगसँगै तीज पर्व मनाउने शैलीमा धेरै परिवर्तन आएको महिला अधिकारकर्मीहरू बताउँछन । समयानुकुल चल्नु त ठिकै हो तर समयानुसार चार्डपर्वमै यस्तो खालको विकृति निम्तिनु चाहिँ राम्रो नभएको रोल्पाकी अधिकारकर्मी श्रीकुमारी घर्तिमगर बताउनु हुन्छ। वर्षौ भरी आफ्नो घरको काममा व्यस्त भएको अवस्थामा माइत गएर दरको रूपमा मिठो मसिनो खाने माइतीहरूसँग भेटघाट गर्ने, एकआपसमा फरक फरक घरमा विवाह गरेर गएका चेलीहरूसँगको भेटघाटले गर्दा दिदीबहिनीहरू आफ्नो दुख सुख साटासाट गर्ने महत्वपूर्ण पर्व हो तीज,उहाँले थप्नुभयो । साथै एकआपसमा नाच्ने,गाउने,गीतको माध्यमबाट आफ्ना दुख पिरका साथै आफ्ना संस्कार, संस्कृतिलाई जोगाउनको लागि सन्देश प्रवाह गर्ने चाडका रुपमा तीज पर्वलाई लिनुपर्छ उहाँले भन्नुभयो ।
पहिले गीतहरू गाउँदा पनि आफ्नै स्वरमा मादल, बाँसुरी लगायतका बाजाहरु बजाएर नाच्ने गाउँने गरिन्थयो तर अहिले पछिल्लो चरणमा डेग तथा साउण्ड सिस्टमको चर्को आवाजमा नाच्ने, एक निश्चित समयमा मात्र नाचगान नगरी, रातभरी नाचगान गर्ने, छरछिमेकमा होहल्ला मच्चाउने, महीनौ अगाडीदेखि होटेल, पाटी, प्यालेसहरूमा गएर नाचगान गर्ने र दरखाने प्रचलन हाबी भएको छ, उहाँले थप्नुभयो ।
तीज पर्व मनाउने नाममा भित्रिएको यस्तो संस्कृतिले आयस्रोत भएका व्यक्तिहरूको लागि त त्यति धेरै समस्या नहुनसक्छ तर निम्न आयस्रोत भएका परिवारहरूको लागि कुनै पनि चाड पर्व मनाउन आर्थिक रूपले गाह्रो हुने अवस्था आएको छ, उहाँ भन्नुहुन्छ । एक परिवारको चाडपर्व मनाउने शैली र अर्को परिवारको चाड पर्व मनाउने शैलीले गर्दा परिवार भित्रनै ठुलो वितृष्णा पैद भएको छ,उहाँले थप्नुभयो । पहिलेको समयमा दरखाने बेला गाउँघरमै उत्पादित खिर, केरा, स्याउँ लगाएतका फलफूलका परिकार खाएर रमाइलो गरिन्थ्यो । तर अहलेको समयमा चाहिँ दरको रुपमा मदिराजन्य पदार्थको सेवन गर्ने प्रचलनले चाडपर्वको नाममा विकृति निम्त्याएको पाइन्छ ।
तीज पर्व धन हुनेको पर्वको रुपमा स्विकार्नुपर्ने अवस्था बन्न पुगेको छ । महङ्गा गरगहना र लत्ताकपडा किन्नका लागि एक आपसमा प्रतिस्प्रदा नै हुने गरेको छ । पछिल्लो समय तीज मात्र नभई कुनै पनि चाडपर्व महँगो र द्वन्द्व निम्त्याउने खालको हुदै गएको छ । तीज मनाउने परम्परामा परिवर्तन हुदा अबको कुनै पनि चाडपर्व हुदा खाने परिवारको लागि होइन हुनेखाने परिवारहरूको लागि हो भन्न सकिन्छ ।
अहिले प्रायजसो चाडपर्वलाई हेर्दा चाडपर्व मनाउने क्रममा पारिवारिक रूपमा पनि समस्या आउने र घरमा पनि खर्च अत्यधिक बढने, संस्कार संरक्षणको नाममा विकृतिहरू फैलाउने खालको देखिन्छ । यदि यसरी नै चाडपर्वहरू मनाउदै जाने हो भने पछिल्लो समयमा हाम्रा नेपाली संस्कृति, भेषभूषा, रीतिरिवाज कस्तो रहला ? हाम्रा नेपाली संस्कार, संस्कृति, भेषभूषा, चालचल, रीतिरिवाजलाई आउँदा पुस्ताहरूलाई कस्ले हस्तान्तरण गर्ने ? भन्ने प्रश्न उब्जिएको छ ।
भरत विश्वकर्मा
