तुलसीपुर, १९ भदौ । तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका फुटपाथ तथा सडकपेटीमा राखिएको सामान हटाएको छ । बुधबार विहान तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरी, बजार व्यवस्थापन शाखाका कर्मचारी, नगर प्रहरी, ट्राफिक प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधिलगायतको टोलीले फुटपाथ व्यवस्थापन तथा अनुगमन गर्नुका साथै फुटपाथ तथा सडकपेटीमा राखिएको सामान हटाउँनुका साथै जफत गरेको हो ।
अनुगमनका क्रममा फुटपाथमा राखिएका सामान हटाउन आग्रह गरिएको र अर्को पटकमा फेला पारे नगर प्रहरीले जफत गर्ने चेतावनी दिइएको थियो । उपमहानगरको उक्त अभियानमा अटेरी गर्ने व्यवसायीहरुको सामान जफत गरेको थियो ।
अनुगमनका क्रममा पसल दर्ता नगरी व्यवसाय गरेका, किसानको कार्ड नभएका गैरकिसानले तरकारी बेच्ने गरेको र उपमहानगरको नियम विपरित व्यवसाय गरेका व्यवसायीहरुलाई सचेत गराइएको थियो । उनीहरुलाई तत्काल उपमहानगरमा सम्पर्क गरी व्यवसाय दर्ता गर्न आग्रह गरिएको थियो ।
तुलसीपुरको घोराही रोड विद्युतको पेटीमा किसानहरुले उत्पादन गरेका तरकारी विहान र बेलुका बेच्ने गर्दछन् । विहान ८ बजेसम्म र बेलुका ५ बजेपछि तरकारी बेच्न पाउने भनिएकोमा बिहान १०–११ बजेसम्म पनि तरकारी बेच्ने गरेको भेटिएपछि एक पटकलाई सचेत गराएको छ ।
उक्त अनुगमनका क्रममा फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरुले तरकारी बेच्न किसान कार्ड चाहिने तर मकै पोलेर बेच्न, फलफुल बेच्न कुनै कार्ड नचाहिने भन्दै व्यवसायीहरु माथि पक्षपात भएको गुनासो गरेका थिए । उनीहरुले फुटपाथमा व्यापार गर्नेहरुका लागि उपमहानगरले उचित व्यवस्थापन गर्न माग गरेका थिए । पटक पटकको अनुगमनका नाममा उपमहानगरले दुख दिइरहेको गुनासो गरेका थिए । विगत १९ वर्षदेखि फुटपाथमा तरकारी व्यवसाय गर्दै आइरहनु भएकी दिलमाया बुढाले भन्नुभयो ‘उपमहानगरको मापदण्डअनुसार नै व्यवसाय गरेका छौं, घरमा उत्पादन गरेका तरकारी विक्रि गर्दा पनि पटक पटक दुख पाइरहेका छौं ।’
त्यस्तै रुकुम पश्चिमका खिम बहादुर वलीले उपमहानगरले बनाइदिएको टहरामा मासिक दुई लाख भाडा तिर्न नसकिने भएकाले फुटफाथमा व्यापार गर्न लागेको बताउनु भयो । ‘उपमहानगरका कर्मचारी आउने व्यवस्थापनको लागि आश्वासन दिने जाने गर्नुहुन्छ तर हामीलाई सधैंको लागि उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छौं ।’
अनुगमनका क्रममा किराना तथा फलफुल व्यवसायी भनी गर्दा गरेता पनि तरकारी पसल गरेको भेटिएका थिए । व्यवसायीहरुले बजार अनुगमनलाई एक दिन मात्रै नभएर निरन्तरता दिन आग्रह समेत गरेका थिए । व्यवसायीहरु आक्रोसित हुँदै कसैलाई कारबाही गर्ने र कसैलाई नदेखेको जस्तो गर्दै हिड्ने आरोप लगाएका थिए । साथै उपमहानगरपालिकाले व्यवसायीमाथि पक्षपात गरेको पनि बताएका थिए ।
उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले नागरिकहरुको गुनासोका आधारमा बजार व्यवस्थित गर्न अनुगमन गरिएको बताउनु भयो । पसलको दर्ता, उद्देश्यअनुरुप पसल सञ्चालन नहुँदा बजार अव्यवस्थित देखिएपछि बजारलाई सुन्दर बनाउने अभियानलाई पूर्ण सफल बनाउने कुरामा अग्रसर भएको मेयर खड्काले बताउनु भयो ।
आफूहरु निर्वाचित जनप्रनिधि भएकाले कुनै पनि व्यापारीलाई पक्षपात नगरेको मेयर खड्काले बताउनु भयो । ‘हाम्रा लागि सबै व्यापारी एक हुन्, सबैलाई सामान व्यवहार गरेका छौं ।’ उहाँले भन्नुभयो । ‘निर्वाचित जनप्रतिनिधिले कसैमाथि पक्षपात गर्छ भने त्यो भन्दा ठूलो अत्याचार केही हुँदैन ।’ आउँदा दिनहरुमा सटर भन्दा बाहिर राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले बताउँनुभयो ।
उदीराम चौधरी
