• ट्रेण्डिङ्ग :
परिषद्द्वारा कालुङचोक क्रिकेट मैदान संघलाई हस्तान्तरण

परिषद्द्वारा कालुङचोक क्रिकेट मैदान संघलाई हस्तान्तरण


  • 2.5K
    SHARES
    • भाद्र २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    परिषद्द्वारा कालुङचोक क्रिकेट मैदान संघलाई हस्तान्तरण

    सुर्खेत, भदौ २२ । कर्णाली प्रदेश खेलकुल परिषद्ले निर्माण सम्पन्न गरेको कालुङचोक क्रिकेट मैदान कर्णाली प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गरेको छ । संघको दोस्रो वार्षिकोत्सव कार्यक्रममा परिषद्का सदस्य–सचिव विश्वामित्र संज्यालले प्रदेश अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्कालाई क्रिकेट मैदान हस्तान्तरणको पत्र हस्तान्तरण गर्नुभयो । 

    images


    कालिन्चोकमा तीन लेन पिचसहित ६५ यार्डको क्रिकेट खेल मैदान, तीन कोठे प्रिफेव घर, एक पानी ट्याङ्कीसहितको मोवाइल शौचालयसहितका संरचना परिषद्ले संघलाई हस्तान्तरण गरेको हो ।

    यो मैदानमा असार ८ गतेदेखि १४ गतेसम्म मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना भइसकेको छ । प्रदेश अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष खड्काले रंगशालाको अभावमा पनि कर्णालीमा क्रिकेटको विकास र विस्तार भएको बताउँदै अव ठूला प्रतियोगीता आयोजना गर्न समस्या नहुने बताउनुभयो । उहाँले प्रदेश राजधानी वीरेन्द्रनगरमै दुई क्रिकेट रंगशाला तयार भएकाले यसको संरक्षण र रेखदेखको जिम्मा क्रिकेटप्रेमीहरुको भएको बताउनुभयो । 

    उहाँले परिषद्ले संघलाई हस्तान्तरण गरेको क्रिकेट रंगशालाको संरक्षणका लागि केन्द्रले पाँच लाख रुपैयाँ छुट्याएको बताउनुभयो । ‘निकट भविश्यमै कर्णालीमा १० औं राष्ट्रिय क्रिकेट प्रतियोगीताको आयोजना हुँदैछ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि क्रिकेट ग्राउण्डको रेखदेख र संरक्षणका लागि संघले आवश्यक रकम छुट्याएको हो ।’ 
    उहाँले समयमै साधारणसभा आयोजना गर्ने जिल्ला र प्रदेश शाखाहरुलाई प्रोत्साहन स्वरुप ५० हजार र क्रिकेट गतिविधि आयोजनाका लागि थप एक लाख दिने निर्णय भएको बताउनुभयो । उहाँले पहिलो चरणमा नेपालका १० जिल्लामा महिला क्रिकेटर प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । ती १० जिल्लाहरुमा कर्णालीका दैलेख र सल्यान छनोट भएका छन् । 


    कोषाध्यक्ष खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो पटक कर्णाली सहभागी हुने अवसर पाएको बताउनुभयो । ‘विगतमा सात टीम हुन्थे बागमतीको प्रतिनिधित्व चितवनले गर्दथ्यो, काठमाडौंको छुट्टै टीम हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अव एनपीएलमा कर्णाली आफ्नो पहिचानसहित सहभागी भएको छ ।’ उहाँले एनपीएल आयोजनाबाट संकलन भएको रकम प्रदेश र जिल्लालाई समानुपातिक वितरण गरिने पनि जनाउनुभयो । 


    कर्णाली खेलकुद परिषद्का सदस्य–सचिव संज्यालले क्रिकेट रंगशाला निर्माणसँगै अव खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो लोकप्रियतालाई संघले ध्यान दिनुपर्ने बताउनुभयो ।

    ‘गाउँगाउँमा क्रिकेट खेलको विकासका लागि स्कुलस्कुलमा आउटडोर नेट राखेर अभ्यास गर्ने बानी बसाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसो गर्न सकेको खण्डमा कर्णालीमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ ।’ उहाँले प्रदेश राजधानीमा दुई वटा क्रिकेट मैदानका साथै इन्डोर र आउटडोर अभ्यासका लागि नेट राखिएको बताए । सदस्य–सचिव संज्यालले पूर्वी सुर्खेतको मैनतडामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको पहल भइरहेको बताउनुभयो ।


    तेस्रो आँखा