तुलसीपुर, ३ असोज । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले खेलकुदको पर्यायवाची शब्द कुबेर शाह भएको बताउनु भएको छ । तुलसीपुरको अरनिको मैदानमा आजदेखि सुरु भएको प्रथम कुबेरबहादुर शाह स्मृति कप पुरुष भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री गिरीले यस्तो बताउनु भएको हो । कुबेर शाह कुशल भलिवल खेलाडी थिए । तुलसीपुरमा यो बर्षदेखि शाहकै नामबाट प्रथम कुबेरबहादुर शाह स्मृति कप पुरुष भलिवल प्रतियोगिताको थालनी गरिएको छ ।
उहाँले भलिवल प्रतियोगिता संविधान दिवसको दिन राखेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । “विहानदेखि साँझसम्म खेलकुदलाई सफल बनाउने मुल उद्देश्य कुबेर शाहको थियो” उहाँले भन्नुभयो “अरनिको मैदानमा भएका हरेक खेल, विधाहरुमा दक्ष हुनुहुन्थ्यो ।” त्यस्तै गिरीले यस्ता कार्यक्रम हरेक वर्ष आयोजना गर्न आग्रह गर्दै आफूले पनि सकेको सहयोग गर्ने बताउनु भयो । यतिमात्र नभई कुबेर शाहकोलागि अझै केही गर्नुपर्ने चिन्ता व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगी, दाङ क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधि जगतबहादुर खड्का, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, तुलसीपुर वडा ९ का वडाध्यक्ष घनश्याम ढकाल, नेपाली कांग्रेस तुलसीपुर वडा नं. ७ का सभापति ओमबहादुर वलीलगायतले बोल्नु भएको थियो ।
तीन दिनसम्म चल्ने भलिवल प्रतियोगितामा खेलाडीहरुलाई पूर्वमन्त्री दिपक गिरीले बल प्रदान गरी खेलको प्रारम्भ गरिएको हो । उक्त प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेस तुलसीपुर नगर उपसभापति विनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव बिमल पौडेल र खेल पत्रकार लक्ष्मण बस्नेतले सञ्चालन गर्नु भएको थियो ।
त्यस्तै आज भएको भलिवल प्रतियोगितामा ग्रेट अरनिको मावि तुलसीपुरले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गोरखा मावि लमहीलाई २५–१८ र २५–१७ अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै ग्रेट अरनिको माविले विजयी सुरुवात गरेको हो ।
प्रतियोगिता अन्तरगत भोलि दोस्रो दिनको पहिलो खेलमा राप्ती बबई क्याम्पस तुलसीपुर र ड्राईभर स्टाफ रोल्पा टिम भिड्नेछन् । खेल बिहान सात बजेदेखि सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा एचआर मिडिया हाउस तुलसीपुर र मावि तुलसीपुर सेन्टरबीच खेल हुनेछ । त्यस्तै नेविसंघ सल्यान र हेलो मोबाइलबीच आमनेसामने हुने प्राविधिक संयोजक राजु यरीले जानकारी दिनु भयो ।
