नारायणपुर, ६ असोज । घोराही उपमहानगरपालिका १० मा स्व. सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगितामा घोराही १७ र हापुर युथ क्लब सेमीफाईनल प्रवेश गरेका छन् । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको आईतवार भएको खेलमा घोराही १७ ले राईजिङ स्टार क्लब हापुरलाई र हापुर युथ क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई पराजित गर्दै बिजयी भएका हुन् ।
आईतवार भएको क्वाटरफाईनलको पहिलो खेलमा घोराही १७ ले राइजिङ स्टार हापुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । जसमा घोराही १७ का विक्रम बिक, सागर पुन र केशमान घर्तिले एक/एक गोल गरेका थिए । राईजिङ स्टारको तर्फबाट निशान घर्तीले दोस्रो हाफको अन्त्यमा सान्त्वना गोल गरेका थिए । खेलमा घोराही १७ का सागर पुन मगर म्यान अफ द म्याच भएका थिए ।
दोस्रो खेलमा हापुर युबा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई ३–१ गोल अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको छ । हापुर युथ क्लबका कैलास एरी, सञ्जु बस्नेत र मोहन बुढाले एक/एक गोल गरेका थिए । लुम्बिनी फुटबल एकेडेमीका तर्फबाट रुपेन घर्तीले सान्त्वना गोल गरेका थिए । खेलमा हापुर युथ क्लबका किपर प्रतिक सुनार म्यान अफ द म्याच बनेका थिए ।
प्रतियोगिताको क्वाटरफाईनल अन्तरगत सोमवार दिउँसो २ बजे मेगा स्पोर्ट क्लब घोराही र युनाईटेड लालमटियाबिच हुने छ भने दिउँसो ४ बजे न्यू स्टार फुटबल एकेडेमी सेतो र न्यू स्टार फुटबल एकेडेमी कालोबिच हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, द्वितीय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
न्यू स्टार फुटबल क्लबका पूर्व खेलाडी एवं प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका स्व।सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको प्रतियोगितामा संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।
