सर्लाही १० असोज । सर्लाहीमा श्रीमानले गोली प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । जिल्लाको हरिपूर्वा नगरपालिका–५, का धीरेन्द्र यादवले २३ वर्षीया श्रीमती चित्रलेखा यादवको गोली हानेर हत्या गरेका हुन् । गोली लागेर युवकको बुवा घाइते भएका प्रहरीले जनाएको छ । एक जना साथीसँगै बुधवार राति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका उनले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार थिए ।
टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते हुनुभएको छ ।
रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएका छन् । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद भएको छ । हतियार भने फेला नपरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
स्थानीयका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरमा नबस्ने गरेको बुझिएको छ ।
