मर्ने रहर त कति हो कति, तर जिन्दगी कहरले जिएको छु
सुन्दर बनाउँला संसार भन्थे, तर आफ्नैले दिएको पीडा खुसीले लिएको छु
अरुले आहा ! भन्दै गर्दा के थाहा, आफूले आँशु कति पिएको छु
बाटादेखि घाटसम्म गिज्याउने डरले मात्र, फाटेको मुटु सिएको छु
बाँच्ने रहर जति सबै रित्तिए पछि, कात्रो आफूसँगै लिएको छु
न रमाओस् दुनियाँ भनेर मात्र, बनावटी फिका हाँसो दिएको छु
मर्ने रहर त कति हो कति तर कालै आएर बाटो छेकेपछि जबरजस्त जिएको छु
हाँस्न नहुने लेखे पछि, बाँच्न नहुने धेरै दिन देखेपछि
हत्केलाले आफ्नै भाग्य छेकेपछि, दशाले दैलो टेके पछि
भित्र भित्र खिया लागेको फलाम भन्दा झन् धेरै खिएको छु
र पनि ढल्दाढल्दै सयौं पटक सम्हालिएर अडिएको छु
ठेसै लागेर लड्दा रमाउने दुनियाँका अगाडि जसोतसो ठडिएको छु
तर पनि मर्ने रहर त कति हो कति
प्यासीलाई पानी जति, आँखालाई नानी जति
भोकलाई भात जति, निद्रालाई खाट जति
असंख्य अनगिन्ति रहर कति कति
खुशीलाई दागबत्ति दिएको मान्छे म
मर्ने रहर त कति हो कति
लोक राज डाँगी
