किन नियमित हुँदैन टरिगाउँ एयरपोर्टको सेवा

किन नियमित हुँदैन टरिगाउँ एयरपोर्टको सेवा


  • 11.7K
    SHARES
    • आश्विन १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 17.9K Views

    किन नियमित हुँदैन टरिगाउँ एयरपोर्टको सेवा

    तुलसीपुर १५ असोज । दाङको टरिगाउँकालागि काठमाडौंबाट उडेको जहाज अक्सर टरिगाउँ एयरपोर्टमा अवतरण हुँदैन । एयरपोर्टका कर्मचारीहरुसँग अवतरण नहुनुको कारण बुझ्दा यहाँको भिजिविलिटी अपुग भएर ल्यान्ड हुन नसकेको जवाफ आउँछ । तर यहाँकालागि उडेका जहाजहरु कि नेपालगंजमा अवतरण हुन्छन कि भैरहवा । अवतरणकालागि भैरहवा र नेपालगंजको भिजिविलिटी योग्य हुने तर आकाशकोबाटो सोझै हेर्ने हो भने ति एयरपोर्टहरु र टरिगाउँ एयरपोर्टको दुरीमा उल्लेखनीय भिन्नता छैन, र पनि यहाँकालागि उडेका जहाजहरुलाई भिजिविलिटीको समस्या देखाएर भैरहवा र नेपालगंजमा डाईभर्ट गरिन्छ । तर भिजिविलिटीकै कारण काठमाडौंबाट आएका जहाजहरु टरिगाउँ एयरपोर्टमा कहिल्यै ग्राउण्डेड भएका छैनन् ।

    images
    WhatsApp Image 2024-10-01 at 11.23.23 AM.jpeg

    वर्षायामको समय लगत्तै टरिगाउँ एयरपोर्टमा पुनः जहाज आएपछि दाङबाटै काठमाडौं जाने यात्रुहरु खुशी देखिन्थे । दाङबाट काठमाडौं जाने र उताबाट आउने यात्रुका आफन्तहरु टरिगाउँ एयरपोर्टमा भेला भएका थिए । यसरी जहाज नियमित सञ्चालन भए दंगालीवासीहरु जहाज चढ्नकैलागि नेपालगञ्ज र भैरहवा धाउने थिएनन् । जहाज सञ्चालन भएसँगै अटो व्यवसायीहरु अटो लिएर एयरपोर्ट पुगेका थिए । जहाज नियमित भएमा अटो व्यवसायीकोलागि पनि राम्रै हुने देखिन्छ । तर जहाज नियमित नभएपछि अटो चालकहरु पनि जहाजमा बसेर काठमाडौं जाने सपना बोकेका दंगाली यात्रुहरुसँगै निरास छन ।

    काठमाडौंबाट जहाज उडेपनि टरिगाउँमा अवतरण नगर्दासम्म जहाज यहाँ आउँछ नै भनेर ठोकुवा गर्ने अवस्था छैन । दुई साता अघिको शुक्रबार आएको जहाजबाट श्रीमतीलाई काठमाडौं पठाउन आउनु भएका महेशप्रसाद आचार्यले आज दाङ आउने भनी जहाज काठमाडौंबाट उडेको छ रे, यहाँ नआइपुग्दासम्म केही भर छैन भनि आशंका ब्यक्त गर्नुभयो । यसभन्दा अघिपनि काठमाडौँबाट दाङकालागि उडेका फ्लाइट मौसम खराबीका कारण देखाउँदै भैरहवामा ल्याण्डिङ गरेको खबर आएको थियो । टरियाउँ एयरपोर्टमा जहाज ल्याण्डिङ नुहँदासम्म कुनै विश्वास नरहेको उहाँको भनाई थियो । 

    WhatsApp Image 2024-10-01 at 11.23.23 AM (2).jpeg

    लुम्बिनी प्रदेशको राजधानी दाङमा एउटा पनि राम्रो एयरपोर्ट नहुनु दुःखको कुरा भएको आचार्यले बताउनु भयो । २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा त्यो समयमा दैनिक ३२ सिटको डकोटा जहाज बस्ने गर्दथ्यो । पश्चिममा धनगढी, पूर्वमा सिमरा, पोखरा–नेपालगञ्ज–जुम्ला–काठमाडौं चल्ने गर्दथ्यो । अहिले काठमाडौंमा मात्र सीमित भएको छ । दंगालीबासीहरु दुःख पाइरहेका छन् । अहिले दाङमा जहाज नियमति नहुँदा विशेषगरी वृद्ध, बिरामी, अशक्त, कर्मचारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उच्च ओहदाका व्यक्तिहरु नेपालगञ्ज र भैरहवा जान बाध्यता छन् ।

    दाङबाट नेपालगञ्ज र भैरहवा जाने दुवै सडकहरु खराब छ । यो एयरपोर्टलाई व्यवस्थित रुपमा चलाउनकोलागि राजनीतिक दल, स्थानीय निकाय, प्रदेश सरकारलगायत सबैको भूमिका आवश्यक छ । टरिगाउँ एयरपोर्टको विषयलाई लिएर पटक पटक चुनावी एजेण्डा बनाउने तर काम नगर्ने प्रवृत्ति रहेको छ । नेताको पहुँच नभएर हो कि भन्ने अर्को एक प्रश्नमा आचायले खुमबहादुर खड्का, दिपक गिरी, शंकर पोख्रेल, शिवराज गौतमलगायतका नेतृत्वहरु कुनैबेला माथिल्लो तहमा रहँदा पनि पहल नगरेको जस्तो आफूलाई लागेको तेस्रो आँखालाई बताउनु भयो । बेलामौकामा नेपालगञ्ज र भैरहवाको बीचमा रहेको यो एयरपोर्टलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्ने चर्चा पनि चल्छ । तर त्यो त्यति आवश्यक देखिदैन । बरु यो एयरपोर्टलाई ७२ सिटे जहाज बस्ने गरी विस्तार गर्न आवश्यक छ । जसकोलागि विभिन्न राजनीतिक दल, नागरिक समाज, बौद्धिक जमात एवं संघसंस्थालगायत सबै मिलेर नेपाल सरकारलाई दवाव दिनु आवश्यक देखिन्छ ।

    WhatsApp Image 2024-10-01 at 11.23.24 AM.jpeg

    पूर्व–पश्चिमको धावनमार्गका लागि बस्तीलाई उठाउन कठिन छ, त्यसैले यसैलाई ट्र्याक सिधा गर्ने र तलतिरको चिरो(खोल्सो) भाट्ने र छेउमा रहेको पानी ट्यांकी हटाउन सकिन्छ । कच्ची एयरपोर्ट भएको बेला ४२ सिटे डकोटा जहाज दैनिक बस्दथ्यो भने अहिले त रनवे पनि बनेको छ । यदि पूर्व–पश्चिम रनवे बनाउने हो भने २५–५० वर्ष लाग्छ, बजेट कस्ले दिने ? बनेका एयरपोर्ट त चलिसकेका छैनन भने राजनीतिक दल, स्थानीय सरकारलगायतले त्यता नलागेर यसैलाई व्यवस्थित गर्न सके राम्रो हुने स्थानीयहरुको धारणा छ ।

    तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले आफू विशुद्ध विकासको योजनामा रहेकाले टरिगाउँ एयरपोर्टमा ठूला जहाज चल्नकोलागि पूर्व–पश्चिम धावनमार्ग निर्माण गरेर एयरपोर्ट सञ्चालन गर्ने आफ्नो योजना भएको सुनाउनुभयो । ठूला जहाज बसाउनको निम्ति दाङका राजनीतिक दलका नेता, निर्वाचित संसद्, जनप्रतिनिधि र निजी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बताउनु भयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले दिएको प्रतिक्रिया सकारात्मक रहेको छ ।” एयरपोर्टको रनवे पूर्व–पश्चिम बनाउन जग्गा प्राप्त गर्नकोलागि स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । 

    त्यस्तै खड्काले एयरपोर्ट बनाउन पैसाको सुनिश्चितताको निम्ति आफूले विशेष ध्यान दिने बताउनुभयो । दाङ देउखुरीकै विकासको सन्दर्भमा प्रधानमन्त्री समक्ष ८ वटा विषयवस्तु राखिएको उहाँले जानकारी दिनुभयो । जसमध्ये धेरै विषयहरुमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको पालिका प्रमुख खड्काले तेस्रो आँखालाई बताउनुभयो । “अहिले हाम्रो अर्जुनदृष्टि भनेको एयरपोर्ट हो, गएको सरकारले ३० करोड दिएको भन्यो तर एक करोड राखेको रहेछ ।” उहाँले भन्नुभयो “हामीले प्रधानमन्त्री समक्ष एयरपोर्टकोलागि आवश्यक बजेटको प्रबन्ध मिलाइदिन भनेका छौं ।” टरिगाउँ एयरपोर्टमा ठूला जहाज बसाउनकोलागि पूर्व–पश्चिम हुनेगरी धावनमार्ग परिवर्तन गर्नुपर्ने हुन्छ, त्यसकोलागि आफू नेतृत्वमा रहँदासम्म तुलसीपुरको एयरपोर्टकोलागि चाहिने पैसा खोज्ने र दातृमुलुक, नेपाल सरकार वा आन्तरिक रुपमा साझेदारी गरेर भएपनि एयरपोर्ट बनाउने काममा आफ्नो प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै मेयर खड्काले तेस्रो आँखालाई जानकारी दिनुभयो । 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा समय नभएकाले अनुपस्थित भएपनि उहाँहरुको सहमति रहेको र सबै पार्टीको सहमतिका साथ एक ठाउँमा उभिएर दाङको टरिगाउँ एयरपोर्टलाई निर्माण गर्न सबै लागिपरेको प्रति आफू आशावादी भएको मेयर खड्काले सुनाउनुभयो । 

    तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले नेपाल एयरलायन्सको जहाज पहिले हप्तामा चारवटा उडान हुने गरेकोमा पछि एकवटा र अहिले पुनः दुईवटा उडान हुने विषयलाई सकारात्मक लिएको बताउनु भएको छ । जहाज नियमित नहुनुका पछाडि उनीहरुको आफ्नै टेक्निकल समस्याले जहाज ग्राउण्डेड भएको पनि हुनसक्ने धारणा राख्दै टरिगाउँ एयरपोर्टलाई विस्तार गर्नुको विकल्प नै नरहेको केसीले तेस्रो आँखालाई बताउनु भयो । “टरियाउँ एयरपोर्टलाई विस्तार नगर्ने हो भने नेपाल एयरलायन्स र नीजि एयरलायन्ससँग जहाजहरु कम भएकाले पहाडी क्षेत्र छोडेर दाङ आउने सम्भावना देखिदैन”, उहाँले भन्नुभयो – “लामो हवाइ यात्राकोलागि चाहिँ दाङको टरिगाउँ एयरपोर्टलाई विस्तार गर्नैपछर्, यदि भएन भने दंगाली जनताकोलागि धोका नै हुन्छ ।”

    त्यस्तै उहाँले पूर्व–पश्चिम एयरपोर्ट विस्तार गर्न पहिले त जग्गा अधिग्रहणकोलागि झण्डै एक अर्ब रुपैया लाग्ने जस्तो देखिन्छ । तर त्यो नेपाल सरकार अर्थमन्त्रालयले सुनिश्चित गरिदियो भने विमानस्थललाई स्तरउन्नति गर्ने प्रयास अगाडि बढ्ने उहाँले बताउनु भयो । “यही आर्थिक वर्षमा हेरौं अर्थमन्त्रालयबाट बजेटको सुनिश्चितता भयो भने एयरपोर्टलाई पूर्व–पश्चिम वा कुनै पनि टेक्निकल रुपमा विस्तार गर्ने ठूलो कुरा होइन” उहाँले भन्नुभयो “विशेष कुरा भनेको बजेटको सुनिश्चितता नै हो । तुलसीपुर एयरपोर्टको दिगो विकासकालागि र यसको विस्तारका लागि बजेट नै मुख्य कुरा रहेको जस्तो लाग्छ ।” त्यस्तैगरी नेपाल वायु सेवा निगम दाङका प्रमुख बलबहादुर सुनारले टरिगाउँ एयरपोर्टमा जहाज हप्तामा दुई दिन नियमित सञ्चालन भइरहेको जानकारी दिनुभयो । “हप्ताको मंगलबार र शुक्रबार जहाज टरिगाउँ एयरपोर्टमा आउने गरेको छ” उहाँले भन्नुभयो “प्राकृतिक मौसमका कारणले भिजिविलिटी कम भएमात्रै उडान रोकिन्छ र अन्य समयमा नियमित नै सञ्चालन भएको छ ।”

    प्रमुख सुनारले दाङदेखि काठमाडौंकोलागि अग्रिम टिकट काट्नेले रु ७ हजार एकसय भुक्तानी गर्नुपर्ने र अन्तिम समयमा टिकट काट्नेले ८ हजार ७ सय ७५ रुपैयाँ भुक्तानी गर्नुपर्ने तेस्रो आँखालाई जानकारी दिनुभयो ।

    त्यस्तै तुलसीपुर–१७ निवासी वातावरणविद् डिल्लीबहादुर रावतले दाङ जिल्ला एसियाकै ठूलो उपत्यका रहेको र सल्यान, रुकुम, रोल्पाको द्वारको रुपमा रहेकोले दाङबाट जहाज राम्रोसँग चल्नसक्ने बताउनु भयो । “दाङको नजिक रहेका भैरहवा एयरपोर्ट र नेपालगञ्ज एयरपोर्ट नियमित सञ्चालनकालागि त्यहाँका नेताहरुले वा केन्द्रबाटै दाङमा एयरपोर्ट बन्न नदिनकोलागि दाङका नेताहरुलाई किनिदिन्छन्”, उहाँले भन्नुभयो – “दाङमा एयरपोर्ट हुन नदिन भैरहवा र नेपालगञ्जको षड्यन्त्र हो, यहाँका नेतालाई प्रभावमा पारेका छन्, यहाँका नेताहरुलाई पैसा खुवाएका छन् ।” 

    त्यस्तै उहाँले दाङमा जहाज नियमित नहुँदा नेपालगञ्ज वा भैरहवा जान बाध्यता रहेको बताउनु भयो । जसबाट गाडीमा धेरै खर्च लाग्ने, खराव सडकका कारण समयमा पुग्न नसकिनेलगायतका समस्याहरु रहेको रावतले बताउनु भयो । ठूला जहाज बस्ने एयरपोर्ट बनाउनकोलागि अहिलेको धावनमार्गलाई तलतिर चिरो भाट्ने र माथितिर केही घरहरुलाई मुआब्जा दिएर हटाइ विस्तार गर्न सकिने बताउनुभयो ।


    उदीराम चौधरी
    लेखकबाट थप