रोल्पा, १६ असोज । पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको सुलिचौर र रुइनिबाङ बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको छ। सुनिलस्मृति गाउँपालिकाद्वारा आव २०८१/०८२ मा विनियोजित ५ लाख बजेटबाट उक्त बजार क्षेत्रको सुरक्षाको लागि क्यामेरा जडान गरिएको हो।
बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरेर बजारमा सिसि क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताउनुभयो। सिसि क्यामेरा जडान पश्चात समयसमयमा बजार क्षेत्रमा घटनाहर घट्ने अवस्थामा सुधार हुने अध्यक्ष बुढाथोकीले बताउनुभयो। बजारमा शान्ति सुरक्षाको क्षेत्रलाई मध्यनजर गरेर बजार क्षेत्रमा क्यामेरा जडान गरिएको हो, उहाँले थप्नुभयो।
बजार क्षेत्रका विशेष गरि बढी जोखिम मानिएका क्षेत्रहरुमा क्यामेरा जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनु भयो। बजार क्षेत्रमा जुनसुकै समयमा पनि विभिन्न प्रकृतिका घटनाहरु घट्ने सम्भावना रहेकाले सुरक्षाको दृष्टिकोणले सिसि क्यामेरा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। बजार क्षेत्रमा भैरहेको घट्नाहरूको गाउँपालिकाबाट निगरानी गर्न सकिने व्यवस्था मिलाइएको छ, जुनसुकै समयमा पनि क्यामेराले रेकर्ड राख्ने भएकाले बजारमा भएका घटनाहरुको निगरानी रहने उहाँले बताउनुभयो।
गाउँपालिकाको वडा नम्बर ४ सुलिचौर र वडा नम्बर ३ रुइनिबाङ बजार क्षेत्रलाई पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्रको रुपमा लिने गरिन्छ। उक्त बजारको मुख्य ८ ठाउँमा क्यामेरा जडान गरिएको गाउँपालिकाको पर्यटन प्रवद्धन, वन तथा वातावरण उपशाखा प्रमुख दुर्योधन महरा ९आशिष०ले जानकारी दिनुभयो। क्यामेरा गाउँपालिका र इलाका प्रहरी कार्यालय सुलिचौरको निगरानीमा रहने गरि जडान गरिएको उहाँले जानकारी दिनुभयो। बजारको मुख्य मुख्य खण्डहरुमा क्यामेरा जडान गरिएको छ ।
बजारमा हुने ट्राफिक जामको समस्या, चोरी, डकैती एवं आपराधिक क्रियाकलापहरुमा कमी ल्याउन र अपराधी पहिचान गर्नमा क्यामेरा जडान गरिएको हो। नेपालीहरुको महानचार्डका रुपमा रहेको दशै, तिहार, छठ लगाएतका पर्वहरु पनि नजिकिएकोले बजारमा चाडपर्वको समयमा थप सुरक्षा माथि प्रश्न उठ्ने अवस्था रहन्छ, त्यसकारण चाडपर्व अगावै क्यामेराहरु जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
बजार क्षेत्रमा क्यामेरा जडान हुँदा बजार क्षेत्रमा घट्नाहरु घटेको चाँडो थाहा पाउन सकिने भएकाले पनि यो महत्वपूर्ण रहेको स्थानीय व्यवसायिहरुले बताएका छन् । बजार क्षेत्रमा सुरक्षित तवरले व्यवसाय सञ्चालनमा पनि सहज पुग्ने उनीहरुको अपेक्षा रहेको छ ।
भरत विश्वकर्मा
