काठमाडौं, १६ फागुन । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी–ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिपको उपाधिको लागि आज सोमबार एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोली बीचको खेल दिउँसो एक बजे टियु क्रिकेट मैदानमा सुरु हुने छ । दुबै टोली आज उपाधि जित्ने योजनासहित मैदानमा उत्रने छन् ।
पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफ चार खेलमा चार जितसहित आठ अंक जोड्दै फाइनल प्रवेश गरेको हो ।
सुदुरपश्चिम चार खेलमा तीन जितसहित छ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनल प्रवेश गरेको हो ।
गत वर्ष पनि फाइनलमा एपीएफ र सुदुरपश्चिम भिडेका थिए । त्यस खेलमा सुदुपश्चिमलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
