एजेन्सी, १६ फागुन । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरु विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
क्रेम्लिनमा सुरक्षानिकायको प्रमुखहरुसँग गरेको एउटा बैठकमा उनले पश्चिम राष्ट्रहरुले रुसप्रति अमित्रतवत् कार्य गरेको टिप्पणी गरे । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरुले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी भनेका थिए ।
पुटिनले परमाणुअस्त्र प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएका छन् । पुटीनको यस कदमले पश्चिमा राष्ट्रको ध्यानाकर्षित भएको छ । पुटिनले युक्रेनलाई पुर्ण रुपमा आफ्नो प्रभावक्षेत्रमा फर्काउन चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जेलेन्स्की सरकारको इच्छा भने देशको स्वतन्त्रता हो ।
पश्चिमा देशहरुलाई पछि हट्न आइतवार दिइएको चेतावनीसँगसँगै आगामी दिनहरुमा युक्रेनमा रुसले आक्रमण अझ बढाउन सक्ने आँकलन गरिएको छ । त्यसो गर्दा गैरसैनिकहरु हताहत हुने कुरालाई रुसले अझ बेवास्ता गर्न सक्छ ।
बीबीसी
