काठमाडौं, १६ फागुन । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता चैतको पहिलो सातादेखि सुरु हुने भएको छ ।
प्रतियोगिता धनगढीमा चैत सात गतेबाट सुरु हुने भएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीयसहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद चार लाख रुपैंया प्राप्त गर्दा उपविजेताले दुई लाख रुपैंया प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुने टोलीले एक लाख रुपैंया पाउने छ भने चौंथो हुने टोलीले ५० हजार रुपैंया प्राप्त गर्ने छ ।
प्रतियोगिताको विधागततर्फका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैंया पाउनेछ । यस्तै, उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले समान १० हजार रुपैंया प्राप्त गर्नेछन् ।
