मान्छे बेच्ने उद्योग हो यो
बेचिएरै विदेसिएको तिमी र म उस्तै त हो नि
पाइला पाइलामा नव सामन्त सेता हात्तीहरु
छाला काडेर लिलाममा बेच्दैछन
लुकाएर राखेको तिम्रो र मेरो छाला सुकाएर बेच्दैछन
तिम्रो बलिदानी र मेरो देश भक्ति कतिन्जेल रहला र
स्यालहरु दिन दहाडै वस्तीहरुमा
मेरो अभाव र तिम्रो भोकसँगै शिकार गरि रहन्छन
उद्योग सबै बेचेर सकेपछि
कित्ता कित्ता बाँडेर तिमी र मलाई गणतन्त्रको नयाँ बजार बेच्दै छन
उस्को रेशमी पस्मिना, तिम्रो कास्मिरी कुर्था र मेरो नाइलनको भोटो
जे भए पनि के भयो र दुष्ट गिद्धहरुले कंगाल बनाएर लुछ्दैछन ।
सुन्दै छु
तिमी अचेल घर फर्कने सोचमा छौ रे
सयपत्रीले तिमिलाई सम्झेको
गैरीखेतले पर्खेको छ
ढल्न लागेको मैन खामोले पर्खेको छ
निभ्न लागेको टुकीको धिपधिपे उज्यालोले पर्खेको छ
तिमी छिट्टै आउनु
चम्पा र चमेलीसँग रमाउनु
कौशीमा डुल्नु,
पहरामा फुल्नु
आलीहरुमा झुल्नु
तर
सिंहदरबार पापीहरुको बस्ती हो
नारायणहिटीमा वंशनास हुन्छ
तिमी त्यता कहिल्यै नडुल्नु
बाटैमा त्रिशुली पनि छ
बुटन चौधरी र उद्रकान्त राजवंशीलाई कहिल्यै नभुल्नु
बाँदरमुढे त थाहा पाए कै छौ होला
कैलालीको त झन के भनुँ र
त्यसैले
उदेक लागेर आउँछ
कुनै दिन
इटाभट्टामा म आफै ज्युँदै नजलु
पंडित नारायण प्रसाद भै न ढलुँ
धाउँदाधाउदै अदालतको आँगन मै नगलूँ
इमान्दार भएर जिउन गाह्रो छ
तेल सकिएको दियो जस्तै धिपधिप नबलूँ
त्यसैले
तिमी ओम्नी र वाइड बडिको कुरा नगर्नु
गुण्डा राज भएको देश हो सत्य कुरा नगर्नु
लाउडा र धमिजासँगै भ्यु टावर नचढ्नु
महाकाली सन्धी नपढ्नु
सिसि क्यामराको तार नखोज्नु
दसगजामा लगाइएका काँडे बार नखोज्नु
परिचय पत्रमा आफ्नो पहिचान नखोज्नु
दलालहरुले तिमिलाई नै लिलाम गरिदेलान
देश उठाउने हुटहुटी नबोक्नु
रोएर बस्नु आँशु नरोक्नु
जसले जे जे भन्छन् नपत्याउनु
मिन बहादुरले दान दिएको नलत्याउनु
फेरी आउलान
फकाउलान
सुम्सुम्याउलान
टाउकाको दुखाईमा
नाइटोमा तेल लगाउलान
झुक्याउलान
भाइभाइमा गोली नठोक्नु ॥
लोक राज डाँगी
