वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले कुमाख गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदम बहादुर बुढामगरसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष बुढामंगरसँग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंंश ।
१. जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामीले जनतालाई गरेका बाचाहरु मध्ये आधा भन्दा बढी काम पूरा गरिसकेका छौं । लगभग ७५ प्रतिशत काम पूरा भयो र २५ प्रतिशत काम पूरा हुन बाँकी छ । जस्तै खानेपानी, सडक विस्तार, विद्युत लगायत पुर्वाधार विकासका काम सम्पन्न भएका छन । अबको योजना कुनै बस्तीमा विद्युत विस्तार भएको छैन, त्यसको लागि टेण्डर परेको छ, अर्को बर्षसम्म सम्पन्न हुन्छ । खानेपानी ‚ एक घर एक धारा” बनाउने रणनीति थियोे र यसको काम पनि अर्को बर्षसम्म सम्पन्न हुनेछ । शिक्षाको क्षेत्रमा विद्यालयमा गुणस्तरीय शिक्षाको पनि विकास भएको छ । स्वास्थ्य क्षेत्रमा पहिले भन्दा धेरै सुधार भएको छ । टोल बस्तिहरुमा गएर बालबालिकालाई खोप लगाउने कार्यक्रम अगाडि बढेको छ । कारोना सम्बन्धि केही खोपहरु लगाइरहेका छौं । स्वास्थ्य चौकीमा १० बजेदेखि ५ बजेसम्म र अरु समयमा पनि स्वास्थ्यकर्मिहरु खटिनुभएको छ । हाम्रो वडामा स्वास्थ्य चौकी भवन २ करोड लगानीमा निर्माण भएको छ, उक्त भवन यो बर्षदेखि प्रयोगमा ल्याउदैछौं ।
२. वडाको समग्र गतिविधि सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईंको वडामा त्यस्तो छ कि छैन ?
त्यस्तो हाम्रो वडामा छैन । सडक, खानेपानी, विद्यालय, विद्युत र स्वास्थ्य चौकी लगायतका क्षेत्रमा हामी वडाका समग्र जनप्रतिनिधिहरुले अनुगमन गरिराखेका छौं । सदस्य ज्युहरुलाई जुनसुकै कार्यक्रममा पनि सहभागी गराएका छौं । हामीले वडाका जनप्रतिनिधिहरुको बैठक महिनामा २ पटक र आवश्यकता परेको खण्डमा ३ पटकसम्म बस्ने गरेका छौं ।
३. वडाको समग्र समृद्धिकालागि तपाईका भावि योजनाहरु के-के छन ?
कृषि क्षेत्रमा मौसम प्रतिकुलताका कारण हाम्रो वडामा त्यति मात्रामा फस्टाउदैन । हाम्रो वडातिर धान, गहुँ र मकै हुन्छ यो पनि त्यति राम्रोसँग फस्टाउदैन । पहाडमा भएकाले र सिँचाइको अभावले भनेको जस्तो उब्जानि हुँदैन । मेरो भावी योजना चाहिँ ूएक घर(एक धाराू बनाउने रणनीति छ । हाम्रो जिल्लाबाट रुकुम जिल्ला जोड्ने सडकलाई विस्तार गर्न विशेष प्राथमिकतामा राख्ने योजना छ । विद्युत सबै बस्तिहरुमा पुगेको छैन, नपुगेका ति बस्तीहरुमा पुर्णरुपमा विद्युत सुचारु गर्ने योजना छ ।
४. जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासो कतिको सुनिन्छ ?
अहिलेसम्म त जनगुनासोहरु आएका छैनन् । हाम्रो वडा कार्यालयमा जनगुनासोहरु सुन्ने गुनासो पेटीका पनि छ, त्यस्तो गुनासोहरु छैनन् । सेवा प्रवाहमा आवश्यक पऱ्यो भन्ने १० बजेदेखि ५ बजेसम्म मात्र नभएर साझ ६ बजे र बिहान ६ बजे पनि सेवा दिने गरेका छौं । राज्यले दिने सेवा सुविधाहरुको सुचना फेसबुक चिठि मार्फत प्रत्येक टोलटोलमा पठाउछौ, न्युनतम लक्ष्यित वर्गका कार्यक्रम यसरी चलाएका छौं । हाम्रो वडामा वितरणमुखि कार्यक्रम त्यति मात्रामा हुदैनन् । भए पनि जनजाति, दलित र जेहेन्दार बिद्यार्थीकोलागि आएको सेवा हामीले वडामा बोलाएर दिएका छौैं ।
५. सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सीमा छ । त्यस्को निमित्त तपाईंहरुको तयारी कस्तो छ ?
दिगो विकासकालागि हामीले वडा र आफ्नो तर्फबाट गर्नसक्ने पहल गरेका छौं । शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका पुर्वाधारहरुमा लगानी गरेका छौं । अर्को कृषि क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेका छौ । हाम्रो वडामा टिमुर, कागती र सुन्तला जस्ता फलफूल तथा अदुवार र बेसार जस्ता बालि उत्पादन हुने क्षेत्र भएको कारणले यसलाई विशेष प्राथमिकता जोड दिनुपर्छ भन्ने अभियानमा छौं ।
रुपा थापा
