बुटवल, २७ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ । सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका लामिछानेसँग मंगलबार लिइएको बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले समय अभावका कारण मंगलबार बयान नसकिएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिनुभयो ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिने प्रहरीले जनाएको छ। बुधबार बिहान १० बजेदेखि पुनः जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ। जिल्ला न्याधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिनुभएको थियो ।
सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा लामिछानेले बाघ खोरमा थुनिँदैमा स्याल नहुने बताए । ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’, समर्थकलाई हात हल्लाउँदै लामिछानेले भने ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि रूपन्देही ल्याइएको हो।
