काठमाडौं ३० कात्तिक । दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर-५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकै श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर-९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका-५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको मृत्यु भएको हो ।
मृतक दुई जना भने भारतीय नागरिक छन् । डीएसपी दाहालका अनुसार युपी बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ । विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको हो । घाइते चार जनाको उद्धार गरेर गोकुलेश्वर अस्पताल पुगाइएको र उपचार भइरहेको डीएसपी दाहलले जानकारी दिए ।
जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप हो । जिपमा तिर्थालु सवार थिए ।
