दाङ, मंसिर ७ ।
लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।
प्रदेशका ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी र उर्जा, जलस्रोत, सिंचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो ।
मन्त्री चौधरी दाङ क्षेत्र नम्बर ३ बाट र राज्यमन्त्री श्रेष्ठ दाङ २ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
मन्त्री चौधरी थारू पुरुषतर्फ बाट सर्वसम्मत भए भने राज्यमन्त्री श्रेष्ठ आदीवासी जनजाती पुरुषतर्फ बाट निर्वाचित हुनुभएको हो ।
यसैगरी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि आदीवासी जनजाती महिलातर्फ दाङ २ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभयो ।
यस्तै, क्षेत्र नम्बर १ बाट देवीमाया थापा पनि आदीवासी जनजाती महिला कोटाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मतरुपमा चयन हुनुभयो ।
क्षेत्रीय नेतृत्वका लागि चुनाव
दाङमा कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि मंगलबार निर्वाचन भइरहेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा सभापतिका लागि ७ जना उम्मेदवार हुनुहुन्छ ।
क्षेत्र नम्बर १ मा भेषराज पाण्डे र सर्वजित डाँगीबीच प्रतिष्पर्धा भइरहेको छ ।
यसैगरी, क्षेत्र नम्बर २ मा चित्रबहादुर डाँगी र भीमप्रकाश खड्काका साथै क्षेत्र नम्बर ३ मा जगतबहादुर खड्का, सुरेन्द्र खड्का र किरणबहादुर शाहबीच प्रतिस्पर्धा भइरहेको छ ।
