तुलसीपुर २ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँ स्थित प्रहरी चेक पोष्टबाट खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो २ बजेको समयमा नेपालगञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ख ४६०१ नं. को गाडिमा सवार भारतको बहराइच घर भई तुलसीपुर ६ मदन आश्रित चोक नजिकै कोठा भाडामा बस्दै आएका ३४ वर्षीय इरफान राइलाई प्रहरीले पक्राउ गरेको हो ।
इरफानको शरिर खान तलासीको क्रममा उनले लगाएको जिन्स पाइन्टको गोजाबाट कालो रंगको प्लाष्टिक भित्र सेतो प्लाष्टिकले बेरेको अवस्थामा ६ पुडिया खैरो रंगको जस्तो देखिने ब्राउन सुगर फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
ब्राउन सुगरको तौल प्लाष्टिक हटाएर ३ ग्राम ८२१ मिलि ग्राम रहेको थापाले जानकारी दिनुभयो । थप अनुसन्धानको क्रममा तुलसीपुर ६ निवासी २८ वर्षीय मनोज सुनार र सोही ठाउँका १९ वर्षीय रञ्जित बुढाथोकीलाई समेत नियन्त्रणमा लिएको प्र.नि थापाले बताउनुभयो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।
