एजेन्सी, १९ फागुन। किभ– रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन्। ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने।
किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।
रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ। तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन्। रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ । रुसी सेनााका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन्। अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।
