काठमाडौं, १९ फागुन । रुसले युक्रेनमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय १७ डलर पुगेको छ ।
बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर एक सय १७ डलर पुगेको हो । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय १४ डलर नाघेको छ । जुन अन्तर्राष्ट्रिय बजारमा २०१४ यताकै उच्च हो ।
रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिएको हो । रुस विश्वमा तेल निर्यात गर्ने तेस्रो ठूलो मुलुक हो भने ग्यास निर्यात गर्ने दोस्रो ठूलो मुलुक हो ।
अन्तर्राष्ट्रिय बजारमा तेलेका मूल्य बढेसँगै नेपालमा पनि यसको असर परेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ ।
नेपालमा आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ। साउनदेखि पुस मसान्तसम्म मात्रै कुल १ खर्ब ३२ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । कुल आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा मात्रै १३.२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
