तुलसीपुर, ५ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुर शाखाले हालसम्म किसानसँग १५ सय ८१ क्विन्टल धान खरिद गरेको छ । कात्तिक २१ गतेबाट धान खरिद गर्न सुरु गरेको खाद्यले हालसम्म दाङको गढवा र राजपुर गाउँपालिकाबाट १५ सय ८१ क्विनटल धान खरिद गरेको जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले नै तोकेको मुल्यमा प्रति क्विनटल ३४ सय १० रुपैया ५१ पैसाको दरले किसानबाट धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख तिलक सुनारले तेस्रो आखालाई जानकारी दिनुभयो । व्यापारीले किसानबाट मनोमनी ढंगले आफै मुल्य तोकेर धान खरिद गर्नुहुन्छ, प्रमुख सुनारले भन्नुभयो, खाद्यले किसानहरुले उत्पादन गरेको धानले उचित मुल्य पाओस भन्ने उदेश्यका साथ नेपाल सरकारले तोकेको मुल्यमा धान खरिद गरेको छ ।
धान खरिद गर्नका लागि स्थानिय तहमा समेत सम्झौता गरेको भन्दै शाखा प्रमुख सुनारले दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा धान खरिद गरिसकेको बताउनुभयो । अब तुलसीपुर उपमहानगरपालिकाकामा पनि किसानको उत्पादन हेरेर त्यही अनुसार सम्झौता गरी आउँदो आइतबारदेखि धान खरिद गर्ने तयारी रहेको प्रमुख सुनारले बताउनुभयो ।
कात्तिक २१ गतेदेखि सुरु भएको धान खरिद कार्यक्रम पुसको अन्तिम हप्तासम्म खरिद गरिने भएको छ । प्रमुख सुनारकाअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अबदेखि बर्सेनि किसानबाट धान खरिद गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
यो वर्ष खाद्य तथा व्यापार कम्पनी तुलसीपुरले ८ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । प्रमुख सुनारले यो बर्ष लक्ष्यसम्म पुग्न नसकिने बताउनुभयो ।
'हामीले दाङका धान उत्पादन हुने प्राय स्थानिय तहहरुसंग सम्झौता गरेर किसानको धान खरिद गर्ने उदेश्य राखेका थियो, प्रमुख सुनारले भन्नुभयो तर यो वर्ष धान खरिद गर्न ढिला भएकाले लक्ष्यअनुसार धान खरिद गर्न नसकिने भएको हो । उहाँका अनुसार पहिलो पटक धान खरिद गर्ने भएकाले पनि पुर्वाधार र जनशक्ति कम भएको कारणले गर्दा किसानहरुसंग भएको आधा भन्दा बढी धान बजारमा बिक्रि भइसकेको छ । उहाँका अनुसार कम्पनीले खरिद गरेको धान कुटाएर खाद्यान्नको अभाव हुने ठाउँमा चामल पठाइने भएको छ । हिमाली तथा पहाडी जिल्लाहरु रुकुम, डोल्पा, जाजरकोट, कालिकोट र मुगु लगायतका जिल्लामा चामल पठाउनका लागि धान खरिद गरेको उहाँको भनाई छ ।
खाद्य व्यवस्था कार्यालयले गुणस्तरीय धान मात्र खरिद गर्दै आएको प्रमुख सुनारको भनाई छ । किरा नलागेको र पानीमा नभिजेको धान भएमा किसानहरुसंग जग्गाधनीको प्रमाणपत्र, नागरिकता, पालिकाको कृषिशाखाको सिफारिस राखेर धान खरिद गर्ने प्रमुख सुनारले तेस्रो आँखालाई बताउनुभयो । यो वर्ष खाद्यले किसानबाट मोटो धान मात्र खरिद गरेको जनाएको छ ।
रुपा थापा
