रोल्पा १२ मंसिर । धेरै युवाहरु दिन प्रतिदिन रोजगारीको खोजिमा विदेशिरहेका छन् । तर कतिपय युवाहरु भने देशमै कृषि कर्म गरेर मनग्य आम्दानी गरिरहेको पनि देख्न सकिन्छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ तेवाङका साहिराम पुनले अहिले व्यावसायिक रुपमा तरकारी खेति गर्नुका साथै कुखुरा र बाख्रा पालन व्यवसायमा तल्लिन हुनुहुन्छ । उहाँ विगत केहि वर्षयता व्यावसायिक रुपमा कृषि कर्ममा जोडिनु भएको हो । उहाँको बारीमा अहिले विभिन्न प्रजातीका साग, टमाटर, खुर्सानी, करेला लगायतका तरकारी लटरम्म फलेका छन् । पुनले तरकारीसंगै बाख्रा, कुखुरा पाल्नु भएको छ ।
,गाउँको बारी बाझो राखेर विदेशिनु भन्दा गाउँमै केहि गर्नुपर्छ भन्ने सोचले मलाई यहिँ केहि गर्न मन लाग्यो, कृषक साहिराम पुनले तेस्रो आँखासँग भन्नुभयो-तरकारी खेतिबाट गाउँमै राम्रो आम्दानी गरिरहेको छु, वार्षिक रुपमा २/३ लाख बराबरको आम्दानी हुने गर्छ ।, आफुले उत्पादन गरेको तरकारीको बजारि करणमा पनि खासै समस्या नभएको उहाँले बताउनु भयो । उहाँले उत्पादन गरेको तरकारी केही मात्रामा गाउँमै विक्रि हुने गरेको छ भने धेरै जसोे बजार लगेर विक्रि गर्ने गरेको तेस्रो आँखालाई जानकारी दिनुभयो । पुनले अहिले करिब ३ रोपनी क्षेत्रफलमा तरकारी खेति गरि रहनुभएको छ । उहाँको बारीमा बाह्रै महिना हरियो साग सब्जी, टमाटर, खुर्सानीलगायतका तरकारीह फलेको देख्न सकिन्छ ।
सोहि ठाउँका अर्का किसान टेकेन्द्र पुन मगर पनि पछिल्लो समय व्यावसायिक रुपमा कृषि कर्ममा जोडिनु भएको छ । केहि समय वैदेशिक रोजगारीबाट फर्कनु भएका उहाँ अहिले गाउँमै तरकारी खेतिबाट मनग्य आम्दानी गर्दै आउँनु भएको छ । प्रसस्त मात्रामा पानीको सुविधा भएकाले बेमौसमी तरकारी खेति गर्न सहज हुनुका साथै उब्जनी पनि राम्रो हुने गरेको उहाँले सुनाउनुभयो ।
विदेशबाट फर्किए पश्चात ५ वर्ष पहिलेदेखि कृषि कर्ममा जोडिएको उहाँले बताउनुभयो । विदेशमा गरेको सङ्घर्ष गाउँमै गरे आम्दानी गर्न सकिने सम्भावना देखे अनी गाउँमै व्यावसायिक रुपमा कृषि कर्म गर्न मन लाग्यो,उहाँले थप्नुभयो । पुनले अहिले बेमौसमी तरकारी खेतिबाटै मनग्य आम्दानी गरिरहेको तेस्रो आँखालाई जानकारी दिनुभयो । घरको आम्दानीको मुख्य स्रोत नै तरकारी खेति भएको उहाँको भनाई छ । तरकारी खेतिबाट सन्तानलाई पढाइसंगै घरखर्च चलेको छ, उहाँले भन्नुभयो । गाउँमा उत्पादन गरेको तरकारी विक्रिका लागि भने केहि कथिनाइ हुने गरेको उहाँले बताउनुभयो । तरकारी विक्रीका लागि ढुवानी गरेर बजारमा लगेर बेच्नुपर्ने अवस्था छ,उहाँले भन्नुभयो । समयमै तरकारीको माग पुर्याउन भने कठिन हुने गरेको छ । तरकारी खेतिबाट वार्षिक ३ लाख बराबरको आम्दानी हुने गरेको बताउनुभयो ।
देशमा रोजगारीको अवसर छैन् भन्दै दैनिक रुपमा हजारौको संख्यामा रोजगारीका लागि विदेशिनेहरुका लागि यो एक उदाहरण पनि बन्न सक्छ । देशमै केहि गर्न सकिन्छ भन्ने उदाहरणका पात्र हुनुहुन्छ साहिराम र टेकेन्द्र । स्थानीय, प्रदेश र संघ तिनै तहको सरकाले कृषिमा विशेष जोड दिन आवश्य छ । कृषि प्रधान देश भनिने नेपालमा खाद्यान्न छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ । कृषि क्षेत्रमा सरकारले प्राथमिकता दिएमा यहाँको उत्पादन बाहिर निर्यात गर्ने अवसर बन्न सक्छ ।
भरत विश्वकर्मा
