तुलसीपुर, १४ मंसिर । तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक स्तरोन्नति सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो ।
साढे तीन मिटर चौडा उक्त सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ । त्यसका लागि शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष एक करोड ४० लाख र चालु वर्षमा एक करोड ८२ लाख रुपैयाँ पेश्की प्रदान गरिएको छ । ‘अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ’, उहाँले भन्नुभयो ।
हाल गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ ।
उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ । रासस
