काठमाडौं, २० फागुन। ए डिभिजन क्लब न्युरोड टिम एनआरटी धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पेनाल्टी शुटआउटमा बागमतिसँग पराजित भएको छ ।
धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा चार तीन गोल अन्तरले पराजित भएपछि एनआरटी प्रतियोगिताबाट बाहिरिएको छ
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो ।
पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने सुमन राई पेनाल्टीमा चुके ।
एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।
खेलको ६८ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
खेलको ७४ औं मिनेटमा स्टेफेनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई दुई शुन्य गोलको अग्रता दिलाए ।
तर, खेलको ८३ औं मिनेटमा विमल घिसिङले गोल गर्दै बागमतीलाई दुई एक दुई एक गोलको स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा विजय घलानले गोल गर्दै बागमतीलाई दुई दुई गोलको बराबरीमा ल्याए ।
यस जितसँगै बागमती क्वाटरफाइनलमा पुगेको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
