रोल्पा,२० मंसिर। रोल्पाको सुनछहरी गाउँपालिकाले गाउँ कार्यपालिकाको चौथो बैठक वडा नम्बर २ को भित्रिगाम स्थित बिबाङ दहमा सम्पन्न गरेको छ । पर्यटन क्षेत्रको विकास र प्रवद्धन गर्ने उदेश्यका साथ उक्त स्थानमा बैठकको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।
जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गरेर जलवायु अनुकुलन पुर्वाधार विकास, पर्यटन विकास, कृषि उत्पादन र आम जनताको जिवनमा जलवायु अनुकुलनको आधार निर्माण गर्न कार्यपालिकाको वैठकको आयोजना गरेको गाउँपालिका अध्यक्ष धन बहादुर पुनले बताउनुभयो। वनको संरक्षण, सिमसान क्षेत्रको संरक्षण र पानीका मुहानहरुको संरक्षण गर्ने उदेश्य र विशेष गरेर बिबाङ दह क्षेत्र राप्ति नदीको उद्गम स्थल समेत रहेकाले यसको संरक्षणका लागि बैठकको आयोजना गरिएको उहाँले बताउनु भयो।
कार्यपालिका बैठकको निर्णयबारे जानकारी दिँदै गाउँपालिकाका प्रवक्ता अमरजित पुनले गाउँपालिका भित्रका प्रयटकीय सम्भावना भएका क्षेत्रहरुको संरक्षण, व्यवस्थापन र प्रर्यटन प्रवद्वनलाई सुनिश्चित गर्दै गाउँपालिकाको आर्थिक समृद्धिमा योगदान पुर्याउने उदेश्यले बिबाङ दहमा कार्यपालिका वैठक सञ्चालन गरेको बताउनुभयो। वैठकबाट बिबाङ दह घोषणा पत्र, समेत पारित गरिएको उहाँले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकास सँगै कृषि उत्पादनलाई जोड दिने निर्णय भएको छ, उहाँले थप्नुभयो।
तिन पालिकाको साझा विकासका लागि छलफल
पुर्वी रोल्पाका तिन पालिकाको प्रमुखहरुको बिचमा साझा सवालमा छलफल समेत भएको छ । सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिकाको बिचमा छलफल भएको हो । वैठकमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापा, सुनछहरी गाउँपालिका उपाध्यक्ष ननकला घर्तिको उपस्थित रहेको थियो।
सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनले तिन पालिकाको बिचमा वडाचौर विमानस्थलको पुनर्निमाण गरि सञ्चालनमा ल्याउने, तिन पालिकाको हकमा उच्च शिक्षाका लागि क्याम्पस स्थापना, लुङ्ग्री खोलाबाट हाइड्रोपावर निर्माण, बिबाङ दहमा माइक्रो हाइड्रो निर्माण गर्ने, वडाचौर विमानस्थल देखि सुनछहरी झरणा, गोठीभिर, टिलाचन दह, बुजुधुरी, जलजला,ओख्रेनी हुदै अन्तिम गन्त्यको रुपमा गजुलकोटको दरबारलाई अन्तिम विन्दु बनाउने उदेश्यले तिन पालिकाको बिचमा छलफल भएको जानकारी दिनुभयो । पुर्वी रोल्पाको यस क्षेत्रलाई अर्गानी कृषिको हवका रुपमा विकास गर्ने र उत्पादित सामग्रीको बजारीकरण गर्ने, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर हुदै बिबाङ दह सम्म र सुलिचौर हुँदै जलजला सम्म मोटरबाटो निर्माणका लागि तिनै पालिकाले आवश्यक पहल र प्रयास गर्ने लगायतको विषयमा निर्णयहरु भएको छ ।
भरत विश्वकर्मा
