काठमाडौँ, मंसिर ८ ।
नेपाली कांग्रेस नेतृ डा. डिलासंग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ नामक पुस्तक बिमोचन गरिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पुस्तकको बिमोचन गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तक पार्टीको आसन्न महाधिवेशनका लागि गतिलो पाठ बन्ने बताउनु भयो । ‘नजिकै हाम्रो महाधिवेशन आईरहेको , नेतृ संग्रौलाको यो कितावले महाधिवेशनबाट कांग्रेसलाई अगाडी बढाउन सहयोगी बन्ने छ,’ देउवाले भन्नु भयो ।
यसैगरि उनले डा. डिला संग्रौला पार्टीभित्र सशक्त महिला नेताका रूपमा स्थापित भएको बताउनु भयो । देउवाले भन्नुभयो ‘उहाँ(डा.डिला संग्रौला) पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला हुनुहुन्छ ।’ देउवाले पुस्तकको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नजिकिइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन लक्षित पुस्तकमा नेपाली कांग्रेसले आगामी दिनमा कस्ता कस्ता रणनीति अपनाउनुपर्छ ? भन्ने सन्दर्भमा विभिन्न ८ खण्डमा बहस गरिएको छ ।
पुस्तकका लेखक डा. सङ्ग्रौलाले १४औँ महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताउनुभयो । ‘पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु’, उहाँले भन्नुभयो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले कांग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस बलियो बने मुलुकको विकास हुने उहाँको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताउनुभयो । ‘पुस्तकमा बिपीको चिन्तनअनुसार कांग्रेसको धरातल प्रस्तुत गरिएको छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस जान्न र बुझ्न खोज्नेहरुका लागि पुस्तक उपयोगी हुनेछ ।’ १३९ पृष्ठको यो पुस्तकमा नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरु, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४औँ महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ । पुस्तक लेखक संग्रौला कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन् ।
