काठमाडौँ, २१ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलगायत अतिथिहरूलाई सम्मान गरेको छ ।
उमहानगरपालिकाले शुक्रवार गरेको समारोहमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका अतिथिहरू अयोध्याका मेयर गिरिषपति त्रिपाठी, राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राय, विश्वहिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र पंकजलगायतलाई जनकपुरधामका मेयर मनोजकुमार साहले सम्मान गर्नुभएको हो ।
त्यस्तै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरलगायतलाई पनि सम्मान गरिएको थियो । समारोहमा अयोध्याका मेयर त्रिपाठीले राम भगवानको जन्ती बनेर आउने सौभाग्य पाएकोमा आफू हर्षित भएको बताउनुभयो । त्यस्तै ट्रस्टका महासचिव रायले आफ्नो परम्परालाई बचाएर राख्नुपर्ने बताउनु भएको हो ।
समारोहमा जनकपुरधामका नगर प्रमुख साहले त्रेतायुगको परम्परालाई बचाएर राख्न पाउँदा आफूहरू धन्य महसुस गरेको बताउनुभयो । समारोहमा सहभागी अयोध्याबाट आएका जन्तीहरूले मिथिलावासीले जनकपुरधाममा देखाएको प्रेम र स्नेहबाट आफूहरू आनन्दित महसुस गरेको बताउनु भएको छ । त्यसक्रममा अतिथिहरूका साथै अन्य साधु सन्तलगायतलाई उपमहानगरपालिकाले भोजनसमेत गराएको थिए ।
