मोरङ, २१ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरूबिच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पार्नुभएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो
वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उहाँको धारणा थियो ।
सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनबाट नेतृत्व चयन हुने बताउजुभयो । उहाँ शनिवार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आउनु भएको हो ।
