काठमाडौं, २२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन जोड्यो।
सुदुरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रनको योगदान गर्नुभयो । १८औं ओभरमा रेमन्ड सिमन्सको बलमा उन्मुक्त चन्दबाट क्याच हुनुअघि उहाँले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गर्नुभयो । अर्का ओपनर विनोद भण्डारी १७ रन जोडेर आउट हुनुभयो । सइबसँग ४९ रनको ओपनिङ साझेदारी गर्नुभएका भण्डारीले १७ रन जोड्नुभयो ।
त्यसपछि ब्रान्डन माक्मलेन २० बलमा २३ रन जोडेर आउट हुनुभयो । तेस्रो विकेटको रुपमा सइब आउट भएको अर्को बलमा आरिफ शेखलाई शून्यमा सिमन्सले साद बिन जफरबाट क्याच गराउनु भएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्कट कुगेलेइनले नटआउट ११ रन जोड्नुभयो । दीपेन्द्रले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्नुभयो । कुगेलेइनले ६ बलमा १ छक्का प्रहार गर्नुभयो ।
बलिङमा लुम्बिनीका रेमन्ड सिमन्सले २ विकेट लिनुभयो । उहाँले ४ ओभरमा ३२ रन दिनुभयो । लयमा रहेको सुदुरपश्चिमले यसअघिका दुवै खेलमा जित निकालेको थियो।
लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो। पहिलो खेलमा १९१ रन र दोस्रो खेलमा १७० रन बनाउदा पनि लुम्बिनीले खराब बलिङका कारण खेल गुमाएको थियो।
