काठमाडौं, २५ मंसिर । कप्तान रोहित पौडेलको सानदार ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।
कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको छ । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे । साद बिन जफरले पनि अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको साझेदारीले सन्तुलित बनायो । ५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरे । अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए ।
चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले १–१ विकेट लिए ।
