तुलसीपुर २६ मंसिर । दाङमा रहेका एकसय वडामध्ये पाँच वटा वडा कार्यालयहरुले अहिले पनि भाडाको भवनबाट सेवा दिँदै आएका छन् । दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका गरि दश पालिकाका एकसय वडा मध्ये पाँच वटा वडा कार्यालय भाडाको भवनबाट सेवा दिँदै आएका हुन् । सबै भन्दा धेरै दाङको राप्ती गाउँपालिकाका ४ वटा वडा कार्यालय भाडाको भवनबाट सञ्चालन भइरहेका छन् । तर यी वडाको आफ्नै भवन नभएर भाडाको भवनबाट सेवा भने पक्कै दिएका होइनन् । वडाहरुको भवन पालिकाले प्रदेश सरकारलाई उपलब्ध गराएकाले यी वडाहरु भाडाको भवनबाट सेवा सञ्चालन गरेका हुन् । मन्त्रालयको भवन नबनेकाले पालिकाले राजधानी व्यवस्थापनका लागि मन्त्रालयहरुलाई स्वेच्छाले वडाको भवन उपलब्ध गराएको हो ।
पालिकाको वडा नं. १ को भवनमा प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालय रहेको प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले तेस्रो आँखालाई जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर २ को भवनमा सभामुख क्वाटर, वडा नम्बर ५ मा स्वास्थ्य मन्त्रालय र वडा नम्बर ७ मा राष्ट्रिय अनुसन्धान विभागको कार्यालय छ । यी चार वटा वडा मध्ये वडा नम्बर १ ले १७ हजार, वडा नम्बर २ ले १९ हजार ५५०, वडा नम्बर ५ ले १६ हजार पाँचसय र वडा नम्बर ७ ले ९ हजार रुपैयाँ मासिक रुपमा भाडा तिर्दै आएका छन् । वडाको भाडा पालिकाले बेहोर्दै आएको ज्ञवालीले जानकारी दिनुभयो ।
राष्ट्रियअनुसन्धान विभागलाई भवन खाली गराउनका लागि पत्र पठाएकाले केही समयमा भवन खाली भएपछि ७ नम्बर वडा त्यही सार्ने तयारी छ । अन्य मन्त्रालय र सभामुखको क्वाटर तत्काल सर्ने सम्भावना नभएको ज्ञवालीले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । भवनविहीन तुलसीपुर–१९ ले पनि गत शनिबारदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि पालिकाका अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए । वडा नम्बर ७ ले भने वडाको पुरानो भवन जेष्ठ नागरिकहरुलाई दिएको छ । वडाले खाली भएको विद्यालयबाट सेवा प्रवाह गरेको छ, भने नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको वडाध्यक्ष राम बहादुर जिसीले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिकाका १९ वटै वडाहरु आफ्नै भवनबाट सेवा दिइरहेका छन् । सबै वडा कार्यालयहरु सरकारी भवनबाट सेवा दिइरहेको नगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो । दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ अहिलेसम्म भाडाको भवनबाट सेवा दिँदै आएको छ । पालिकाको अन्य ६ वटा वडाले भने आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । ६ नम्बर वडाको पनि आफ्नै भवन बनिसकेको र अबको दुई महिनामा नयाँ भवनमा सर्ने तयारी रहेको राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले तेस्रो आँखालाई जानकारी दिनुभयो । उहाँका अनुसार भाडामा भएको वडाले मासिक ७ हजार ५०० भाडा तिर्दै आएको छ ।
त्यसैगरी गढवा गाउँपालिकाका ८ वटा वडाहरु पनि सबै आफ्नै भवनमा रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो । लमही नगरपालिकाका नगर प्रमुख जोगराम चौधरीका अनुसार पालिकाका ९ वटै वडा आफ्नै भवनमा छन् । त्यसैगरी बंगलाचुली गाउँपालिकाका ८ वटा वडामध्ये ६ वटा वडाहरु नयाँ भवनमा सरेर सेवा प्रवाह गरिरहेका छन् । वडा नम्बर ३ र ४ भने आफ्नै पुरानै भवनबाट सेवा दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
बबई गाउँपालिकाका ७ वठा वडाहरु पनि आफ्नै भवनबाट सेवा दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कंडेलले जानकारी दिनुभयो । त्यस्तै दंगीशरण गाउँपालिकाका ७ वटै वडाले पनि आफ्नै भवनबाट सेवा दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले बताउनु भयो । शान्तिनगर गाउँपालिकाको ७ वटा वाडामध्ये ६ वटा वडाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । वडा नम्बर ३ भने अहिले चिराघाटमा रहेको स्वास्थ्य चौकीको भवनबाट सेवा दिँदै आएको छ । वडाको आफ्नै भवन बनिसेकाले केही समयमा स्थानान्तरण गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
अञ्जना चौधरी
