• ट्रेण्डिङ्ग :
एनपीएल लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा

एनपीएल लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा


  • 2.1K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.2K Views

    एनपीएल लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा

    काठमाडौं, १ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण अन्तर्गत अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने यो खेलले प्लेअफ समीकरणलाई अन्तिम रूप दिनेछ ।

    images

    लिग चरणको अन्तिम खेलपछि एनपीएलको पहिलो संस्करणका शीर्ष चार टोलीको छनोट पूरा हुनेछ । यसअघि सुदूरपश्चिम र जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् । तर आजको खेलको नतिजाले अन्य तीन टोलीको स्थान र प्लेअफको समीकरणलाई थप रोचक बनाउनेछ ।

    कर्णाली याक्सका लागि आजको खेल जित्नैपर्ने अवस्था छ । खेल जित्न सकेमा उनीहरूको क्वालिफायर पुग्ने सम्भावना बलियो हुनेछ, तर पराजयको अवस्थामा उनीहरूलाई नेटरनरेटको भर पर्नुपर्नेछ । फराकिलो अन्तरले हार भए कर्णाली लिगबाटै बाहिरिनेछ, जसले काठमाडौं गुर्खाजलाई प्लेअफको ढोका खोलिदिनेछ । सुदूरपश्चिम रोयल्सले भने कर्णालीलाई पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्न चाहन्छ । पराजय भए पनि उनीहरूको क्वालिफायर खेल्ने सम्भावना बलियो छ ।

    आजको खेलले कर्णाली, जनकपुर, र काठमाडौंका लागि महत्वपूर्ण असर पुर्‍याउनेछ । कर्णालीले जितेमा जनकपुरको सिधै क्वालिफायर खेल्ने सम्भावना कमजोर हुनेछ भने काठमाडौं लिग चरणबाटै बाहिरिने छ । चितवन टाइगर्स भने अहिले समान अंक भए पनि नेटरनरेटका कारण सुरक्षित छ ।

    एनपीएल प्लेअफमा शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्, जसको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । हार्ने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको एलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    लिग चरण सकिनुअघि नै लुम्बिनी लायन्स, विराटनगर किंग्स, र पोखरा एभेन्जर्सले प्रतियोगिताबाट बाहिरिने यात्रा तय गरिसकेका छन् । आजको खेलसँगै एनपीएलको प्लेअफ समीकरणलाई पूर्णता मिल्नेछ ।


    तेस्रो आँखा