काठमाडौं, २२ फागुन। युक्रेन र रुसबीच चलिरहेको युद्धको प्रभाव नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले युक्रेन र रुसबीच चलिरहेको युद्धको प्रभाव नेपाली सुनबजारमा परेको बताएका हुन्।
‘युक्रेन र रुसबीच युद्ध चलिरहँदा सुनचाँदीमा लगानी गर्नेहरुले आफ्नो लगानी सुरक्षित गर्न तर्फ उन्मुख भएको देखिन्छ।’, शाक्यले भने ‘अन्तर्राष्ट्रिय सुन बजारमा युद्धको प्रभाव परेपछि नेपालमा यसको असर देखिएको हो। अहिले निरन्तर रुपमा सुनको मूल्यको बढीरहनुको कारण दुई देशबीचको युद्ध हो।’ युद्ध साम्य नहुँदासम्म सुनको भाउ बढ्ने सम्भावना अझै रहेको शाक्यले जनाए। उनी भन्छन् ‘सुनको भाउ बढेर यति नै पुग्छ भन्न त सकिदैन तर रुस र युक्रेनको युद्ध नसकिदासम्म अझै सुनको भाउ बढ्ने सम्भावना रहेको छ।’
गएको केही दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भैरहको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार नौ सय रुपैयाँमा कोरोबार भएको छ। साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भैरहेको छ। निरन्तर बढेको सुनको भाउ यो सातामै पाँच हजार तीन सय रुपैयाँले बढेको हो। गत आइतबार ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता ५३ सय बढेर एक लाख एक हजार नौ सय पुगेको हो।
यस अघि २०७६ सालको फागुनमा कोभिडको लकडाउनको समयमा सुनको मूल्य सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय पुगेको भने त्यस यताकै सबैभन्दा बढी आज एक लाख एक हजार चार सय रुपैयाँ पुगेको हो।
पछिल्लो साताको सुनको मूल्य निम्नअनुसार रहेको छः
| गते | छापावाल सुन प्रतिताेला | तेजावी सुन प्रतिताेला | असली चाँदी प्रतिताेला |
| फागुन १५ | ९६ हजार ६ सय | ९६ हजार १ सय | एक हजार २९५ |
| फागुन १६ | ९८ हजार २ सय | ९७ हजार ७ सय | एक हजार ३४० |
| फागुन १७ | ९७ हजार ६ सय | ९७ हजार १ सय | एक हजार ३३५ |
| फागुन १८ | ९९ हजार ५ सय | ९९ हजार | एक हजार ३७५ |
| फागुन १९ | ९९ हजार | ९८ हजार ५ सय | एक हजार ३८० |
| फागुन २० | ९९ हजार ९ सय | ९९ हजार ४ सय | एक हजार ३८० |
| फागुन २२ | १ लाख १ हजार ९ सय | १ लाख १ हजार ४ सय | एक हजार ४१५ |
फागनु १६ गते सोमबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर ९८ हजार दुई सयमा कारोबार भएको थियो। फागुन १७ गते मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजारले घटेको थियो।
अघिल्लो दिन ९८ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य मंगलबार एक हजार घटेर प्रतितोला ९७ हजार छ सयमा कारोबार भएको थियो। फागुन १८ गते बुधबार एकै दिन सुनको मूल्यमा एक हजार नौ सय रुपैयाँले वृद्धि भएको थियो। अघिल्लो दिन मंगलबार प्रतितोला ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
फागुन १९ गते बिहीबार सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन बुधबार ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पाँच सयले घटेर प्रतितोला ९९ हजारमा कारोबार भएको थियो।
फागुन २० गते शुक्रबार सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार प्रतितोला ९९ हजारमा कारोबार भएको सुन शुक्रबार नौ सय रुपैयाँले बढेर ९९ हजार नौ सयमा कारोबार भएको थियो।
आज फागुन २२ गते आइतबार सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भैरहेको छ। साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै चोटी प्रतितोला दुई हजारले वृद्धि भएर एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको हो।
पदम भुजेल
