बिजाैरी, ५ पुस । बिजाैरीमा पसलमा सामान किन्दै गरेका ग्राहक माथि ग्रासी प्रहार भएको छ । ग्रासी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी ३० वर्षीय सुरेश रसाइली र साेहि ठाउँका २८ वर्षीय सुरज पुन घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनु भयाे ।
उहाँका अनुसार सुरेशकाे बाँया कानको साइडमा गहिरो चोट (काटिएको) छ भने पुनको बाँया हात फ्याक्चर भएको छ । उनीहरुकाे अवस्था मध्यम छ । ग्रासी प्रहारबाट घाइते भएकाहरुकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।
बिहीबार राति १० बजेकाे समयमा तुलसीपुर १८ माल बिजौरीमा रहेको प्रचण्ड किराना पसलमा सामान किन्न गएका उनिहरु माथि बिजौरी निवासी अन्दाजी ३२ वर्षीय प्रकाश चौधरी, सन्दिप चौधरी र रेशम चौधरीले सामान किनिरहेका पुन र रसाइली माथि एक्कासी मासु काट्ने ग्रासीले प्रहार गरेका थिए ।
ग्रासी प्रहार गर्ने ब्यक्तिहरु फरार रहेको र उनीहरुकाे खाेजी कार्य जारी रहेकाे प्रहरी निरीक्षक थापाले बताउनु भयाे ।
