मुक्त कम्लहरीहरुले गरेको रहर लाग्दो खेती

मुक्त कम्लहरीहरुले गरेको रहर लाग्दो खेती


  • 3.8K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.9K Views

    मुक्त कम्लहरीहरुले गरेको रहर लाग्दो खेती

    तुलसीपुर ५ पुस । दाङका मुक्त कम्लहरीहरु आजभोली व्यवसायिकरुपमा अर्गानिक खेती गर्न अग्रसर भएका छन् । खासगरी मुक्त कम्लहरीहरुले चलाएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित गन्यारी कृषि सहकारी संस्था र घोराही ११ नारायणपुरमा रहेको ओजरार कृषि सहकारी संस्थामा आवद्ध भएका मुक्त कम्लहरीहरु सिजन अनुसार रैथाने तिल्की धान र तरकारी खेती गर्दै आएका छन् । कुनै समय जमिनदारको घरमा दासताको जीवन विताउन बाध्य भएका उनीहरु अहिले सामुहिकरुपमा व्यवसायिक खेती सुरु गरेसँगै आत्मनिर्भर बन्दै गएका हुन् ।

    images
    c1f84679-3ade-4ac9-9343-56ce5c113edd.jpg

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ की लक्ष्मी चौधरी सानै उमेर जमिनदारको घरमा कम्लहरी बस्नुभयो । ६ वर्षसम्म कम्लहरी बस्नुभएकी उहाँलाई २०६४ सालम एफएनसी संस्थाले उद्धार गर्यो । एफएनसी संस्थाले उद्धार गरेपछि उहाँ २०६५ सालमा एक महिना प्रौढ कक्षा पढ्नुभयो । २०६५ सालम प्रौढ कक्षा पढेर परीक्षा दिएपछि उहाँ दिपेन्द्र माध्यमिक विद्यालय मानपुरमा कक्षा ५ मा भर्ना हुनुभयो । २०६९ सालमा एसएलसी दिनु भएकी उहाँ त्यसपछि नेपाल फाउन्डेसनको सहयोगम अनमी पढ्न सुरु गर्नुभयो । तीन वर्षसम्म अनमी पढेर उहाँ तीन वर्षसम्म मानपुर हेल्थपोष्टम काम पनि गर्नुभयो । तर हेल्थपोष्टको जागिरबाट उहाँ सन्तुष्ट हुन सक्नु भएन ।

    27bf3b85-6293-4ec7-ae77-e82d5b00eafb.jpg


     
    ‘जता गएर जागिर खाँदा पनि आफ्नो मान्छे चाहिने रहेछ, मैले तीन वर्षसम्म हेल्थपोष्टमा निःशुल्क काम गर्दा पनि म त्यहाँ अट्न सकिन’, उहाँले भन्नुभयो ‘त्यसपछि त्यहाँ छोडेर सहकारीमा दत्तचित्त भएर लागे ।’ हेल्थपोष्टको काम छोडेर उहाँ गन्यारी कृषि सहकारीमा आवद्ध हुनुभयो । उक्त सहकारीमा उहाँ २०७० सालबाटै आवद्ध भइसक्नु भएको थियो । तर पढाईसँगै उहाँले सहकारीलाई भनेअनुसारको समय दिनसक्नु भएको थिएन । अहिले भने उहाँ दत्तचित्त भएर सहकारीमा लाग्नु भएको छ । लक्ष्मी अहिले गन्यारी कृषि सहकारी संस्थाको नेतृत्व गर्दै आउनु भएको छ । गन्यारीमा उहाँको यो दोस्रो कार्यकाल हो । २०६६ सालमा स्थापना भएको गन्यारी कृषि सहकारीमा अहिले ४७० जना सदस्य आवद्ध छन् । खासगरी मुक्त कम्लहरी, उनीहरुको परिवार र न्युन वर्गीय आयस्रोत भएका व्यक्तिहरु सहकारीमा आवद्ध रहेको अध्यक्ष लक्ष्मीले जानकारी दिनुभयो । 

    सहकारीमा आवद्ध भएका सदस्यहरुले सहकारीमा जम्मा गरेको थोरथोरै बचत लगेर अहिले व्यवसाय गर्दै आएको उहाँले बताउनुभयो । सहकारीको कारण धेरैजसो मुक्त कम्लहरीहरु आजभोली व्यवसायमा लाग्नु भएको छ । उहाँले भन्नुभयो, ‘कसैले ग्रिल उद्योग सञ्चालन गर्नु भएको छ, कसैले नास्ता पसल, धेरै जसोले किराना पसल चलाउनु भएको छ ।’ उहाँकाअनुसार तरकारी खेती, संगुर, बंगुर, र बाख्रा पालनमा पनि मुक्त कम्लहरीहरु अग्रसर हुनुहुन्छ । 

    Screenshot 2024-12-20 120845.jpg

    त्यति मात्रै होइन गन्यारी कृषि सहकारी संस्थामा आवद्ध सदस्यरुले सामुहिक रुपमा धानखेती पनि गर्दै आउनु भएको छ । सहकारीमा रहेका सदस्यहरुले दुई वर्षदेखि पुरानो रैथाने तिल्की धानसहित लोकल आलु र तोरीको खेती गर्दै आएका छन् । 
    मुक्त कम्लहरीहरुले ३५ कठ्ठा जमिन एक वर्षमा १ लाख ५ हजार भाडा तिर्ने गरी लिजमा लिएर रैथाले तिल्की धानको खेती गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यो वर्ष मात्रै ३५ कठ्ठा जमिनमा करिब ४५ क्विन्टल तिल्की धान उत्पादन भएको उहाँले तेस्रो आँखालाई जानकारी दिनुभयो । अहिलेसम्म ग्राहकहरु सहकारीमा आएर धान किन्ने गरेका छन् । उहाँकाअनुसार यो वर्ष प्रतिक्विनटल ९ हजार रुपैयाँमा धान बिक्रि भइरहेको छ ।
     
    उहाँहरुले उत्पादन गरेको तिल्की धानमा कुनै किसिमको रासायनिक मल र विषादी प्रयोग गर्नु हुँदैन् । बजारमा पाइने थरिथरिका हाईब्रेड धान लगाउने प्रवृत्ति बढिरहेका बेला मुक्त कम्लहरीहरु भने तिल्की धानको संरक्षणमा लागेका हुन् । 

    खासगरी रासायनिक मलको प्रयोग गरेर फलेका अन्न, तरकारी खाएमा स्वास्थ्यमा पनि असर गर्ने भएकाले त्यसको न्युनीकरण गर्न र रैथाने तिल्की धान जोगाउनका लागि आफ्नो संस्था र सदस्यहरु सक्रिय भएर लागेको उहाँले बताउनु भयो । 

    तिल्की धान रोप्ने बेला रासायनिक मलको ठाउँमा खली (पिना) हाल्ने गरेको उहाँको भनाइ छ । कुनै कारण धानमा किरा लागेमा अर्गानिक झोल औषधि बनाएर छर्कने गरेको अध्यक्ष लक्ष्मीले बताउनु भयो । कुनै समय जमिनदारको घरमा दासताको जीवन बिताउन बाध्य भएका मुक्त कम्लहरीहरु यसरी एकजुट भएर अर्गानिक तरकारी उत्पादनमा लागेसँगै धेरैबाट प्रशंसा बटुली रहेका छन् ।

    53e56e1e-243e-4481-9188-7787d70ce9ab (1).jpg

    Screenshot 2024-12-20 120937.jpg

    २५ जना मुक्त कम्लहरीहरु मिलेर सहकारी दर्ता गर्ने क्रममा विभिन्न समस्याहरुको सामना गर्नु परेको अध्यक्ष चौधरीले बताउनु भयो । आफुहरुले चन्दा संकलन गरेर सहकारी दर्ता गरेको उहाँले तेस्रो आँखालाई जानकारी दिनु भयो । पहिले महिनामा ५० रुपैँया बचत गर्न पनि समस्या थियो, आजभोली दैनिकरुपमा सहकारीमा कारोबार हुन्छ उहाँले भन्नुभयो, धेरै चुनौतिहरु पार गर्दै यहाँसम्म आयौं, आजभोलि आफ्नो सहकारी देखेर गर्व महसुस हुन्छ, यो हामी सबै मुक्त कम्लहरीहरुको हातेमालोले सम्भव भएको हो ।   

    सहकारीको दीर्घकालीन स्थायित्वका लागि सबै सेयर सदस्यहरुलाई व्यवसायमा जोड्ने योजना रहेको उहाँले बताउनु भयो । ‘सहकारीको योजनाले मात्रै यो काम सम्भव छैन्, हामीलाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो ‘हामीले फलाएको धान, तरकारीको ब्राण्डिङ, बजारीकरणको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।’ बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा हाम्रा सदस्यहरुले उतपादन गरेको धान, तरकारी यही खपत हुन्छ भन्ने आशा रहेको उहाँले बताउनु भयो ।

    सहकारीलाई अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकाले २ लाख र तुलसीपुर १८ नम्बर वडा कार्यालयले २ लाख सहयोग गरेको उहाँले बताउनुभयो । त्यसैगरी गत वर्ष वर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रबाट प्याज र लोकल आलुको खेती गर्न सहयोग गरेको थियो ।  

    घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको ओजरार कृषि सहकारी संस्था पनि २०६६ सालमा स्थापना भएको हो । ओजरार सहकारी पनि मुक्त कम्लहरीहरुले सञ्चालन गरेका हुन् । अहिले सहकारीमा ६८० जना सेयर सदस्य रहेको अध्यक्ष कमला चौधरीले जानकारी दिनुभयो । ओजरार सहकारीबाट समूह बनाएर सदस्यहरुले अर्गानिक तरकारी खेती गर्दै आएका छन् । सहकारीमार्फत चलेका समूहहरुले अर्गानिक तरकारी खेती, लोकल आलुखेती गर्दै व्यवसायमा लागेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।  

    Screenshot 2024-12-20 120937.jpg

    कुनै पनि विषादीको प्रयोग नगरी तरकारी खेति गर्दै आएको उहाँले बताउनु भयो । सहकारीमा आवद्ध सदस्यहरु तरकारी खेतीमा लागेसँगै आत्मनिर्भर बन्दै गएका छन् । अर्गानिक तरकारी खेती गर्नका लागि पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रले सहयोग गर्दै आएको चौधरीले बताउनु भयो ।

     


    अञ्जना चौधरी
    लेखकबाट थप