काठमाडौँ, ७ पुस । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट बिक्रीबाट करिब चार करोड रुपैयाँ उठेको छ । एनपिएलको पहिलो संस्करणमा टिकट बिक्रीबाटै अनुमानित चार करोड रुपैयाँ उठेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।
उहाँले कीर्तिपुरस्थित त्रिवि मैदानमा १ लाख ३५ हजार बढी दर्शकले मैदानमा गएर एनपिएल हेरेको अनुमान भएको बताउनु भएको छ । १८ दिनसम्म चलेको एनपिएलमा ३२ खेल भएका थिए ।
अब टिकट बिक्रीबाट उठेको आधा रकम क्यानले राख्नेछ । आधा रकम फ्रेञ्चाइज क्रिकेट टोलीहरूलाई बाँडिनेछ । शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।
