कैलाली १० पुस । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका-१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेका छन् ।
उनीहरुले भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात पुस ४ गते कुटपिट गरेका थिए । २८ वर्षीया महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।
किटानी जाहेरी दिइएका मध्ये दुई जना फरार रहेकाले उनीहरुको खोजी जारी छ । पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा भएको प्रहरीको भनाइ छ । कुटपिटमा परेकी महिलाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
