हृदयको धमनी सुक्यो सद्भावना सुक्दै लहरा
समवेदनाको खडेरीमा निस्वार्थ हुँदैन प्राण पहरा
सद्गुणको कोष खाली भयो ,सकियो मानवता
रोदनको स्वर जताततै कहाँ प्राप्त होला मानवता
अज्ञानता जडमान्यताले भरियो अन्तस् करण हाम्रो
सद्भाव समवेदना विवेकले भरियोस् जीवन हाम्रो
दिनरात लुटिदै छन् अमृत तुल्य स्वदेशी सम्पदा
गणतन्त्र आयो भन्छन् सरोकारवाला छन् बेपत्ता
जनप्रतिनिधि भएर पनि जनहितमा कहिले सोच्यौं
जति सक्यो प्रक्रिया पुर्याइ देशको ढुकुटी लुछौं
कहिल्यै याद भएन हामी संग भौतिक वस्तु जाला
विवेक गुम्दा अर्जित सम्पत्ति समेत नपाइएला
बिर्सी सक्यौं सक्कली संस्कृति सभ्यता प्रथा
सन्चित रहेको छ अब बाँकी शब्द अनि कथा
चिन्तनमा परिवर्तन आओस् बदलौं जीवनशैली
समाजमा देखिने उच्छृङ्खलता बनेको जीवनशैली
कौरवी षड्यन्त्रमा अझै चल्दैछ हाम्रो समाज
पाण्डवी शक्ति ब्युझाइ गतिशील बनाऔं समाज
