काठमाडौं १९ पुस । कीर्तिमानी पर्वतारोही मिङ्माजी शेर्पा स्वदेश फर्किएका छन् । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्माजी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्लो १४ वटा हिमालको सफल आरोहण गरि शुक्रबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
शेर्पाले अक्सिजनको सहायता विना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । स्वदेश फर्किएका शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सानैदेखीको नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताए ।
उनले सातवटै महादेशको हिमालहरु सफलता पूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए । उनले भने, ‘मेरो एउटा सपनाथियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भएपनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’ यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अफ्ठयारो नभएको बताए ।
