यी चार खुट्टा हात टेकेर हिड्ने म हुँ
मैले थप केही समय खर्चेर हिडेको छु
किनकि
म शिखर सम्म पुगुँला नपुगुँला
शिखर जरूर हेर्नु छ ।
मेरो यो अठोट हेर्ने र थप हौसला दिने
घाम पानी , डाँडा पाखा
उकाली ओराली
जो मलाई झनै नजिकबाट स्पर्श गर्छन्
मसँग प्रेम बाड्छन्
जहाँ भैजान्थ्यो मैले सोचेको
मन को म मनमनै नाचिजान्थ्यो
मेरा हातका औला छट्पटाउथे र लेख्थे
प्रकृति जस्तै एक कविता
प्रकृतिको काख आमाको काख पछिको काख रहेछ मेरो
मेरा पैतलाले दिन नसकेको माया
मैले हत्केलाले भए पनि दिदैछु
बडो प्रेमले धुलो आएर मेरो हत्केलामा टाँसिन्छ
मलाई अझ दैडन मन लाग्छ
किनकि मलाई त्यहाँसम्म पुग्नु छ
जहाँसम्म म पुग्न सक्छु
लाग्दैछ यी बोट बिरुवा बेजोडले तालि बजाईरहेछन्
हिमाल मुस्कुराई रहेका छन्
बनले राताम्मे पारेर गुराँस फुलाई रहेकाछन्
र प्रतीक्षा गरिरहेका छन्
मेरो आगमनको
उकालीबाट लडेर
तीखा ढुङ्गाका यो कोमल अंगमा
पटक पटक ठेस लागेर
घरको काम छोडी पढ्न भागेर
चामलको बोराको कठ्ठा झोला बुनेर
ऐसेलुको फूल उनेर
सिकेका अक्षरहरु पनि
मेरो प्रतीक्षामा छन् ।
आमाले मेरा लाई चढाएको
त्रिशुल भगवान रुप पनि
मनका देवता बाहेकका देवतानै हुन् नी
उनलाई पनि नमन
कमसेकम मलाई केही दिएका छन्
मसंग साहस छ
उर्जा छ
केही गर्ने जोस छ
जाँगर छ
मैदान छ
म छु
यहाँ हेर्नेहरूको भिडभाड छ
ताली बजाउने आईजान्छन् यसै यसै
बस् उसैको प्रतीक्षा त्यो दिनको छ ।
मेरा लागि उठेका साना तर भब्य सहयोगहरू
मेरा कलिला प्रतिभाहरू जो निस्कन चाहन्थे
माटोबाट दिउला फुटेका सिमिझै गरी
मेरा प्रतिभाहरू
गुरूहरूको प्रेम सहितको ज्ञानका चुचुराहरू
यहाँ म प्रतिको माया
म भित्रको म खोज्न बराल्लिएका यी क्यामाराहरू
यता मैले सुनाउदै गरेको कविता
दर्शक सम्म पुगेको म
र मसम्म आईपुगेको प्रेम
यतै कतै प्रतीक्षा गरिरहेका छन्
यतै कतै कुरिरहेका छन् त्यो समयको
जहाँबाट मैले सहजै देख्न सक्छु
शिखरको उचाई
जहाँबाट बढाउन सक्छु शिखरले मेरो उचाइ
म प्रतीक्षा गरिरहेछु
मेरो प्रतीक्षा भईराखेको छ
यतै कतै ।
