रोल्पा, २३ पुस । आगामी फागुन पहिलो साता रोल्पाको लिबाङमा हुने दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको छ ।
दोस्रो संस्करणको रुपमा सन स्टार युवा क्लबले आयेजना गर्न लागेको प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिनुभयो । ‘अहिले आर्थिक संकलनको काम भइरहेको छ’ अध्यक्ष केसीले भन्नुभयो ‘आयोजकसँग आर्थिक अभाव भएकाले खेलप्रेमीहरुसँग सहयोग उठाइरहेका छौं ।’
आगामी फागुन ३ देखि ८ गतेसम्म रोल्पाको लिबाङमा विजेताले ५ लाख रुपैयाँसहित सन–स्टार ट्रफी जित्नेछ । उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ जित्नेछन् । सान्त्वना हुने टिमलाई ५० हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
करिब १० वर्षअघि पहिलो संस्करणको प्रतियोगिता भएकोमा अहिले क्लबको तेह्रौं वार्षिकोत्सवको अवसरमा दोस्रो संस्करण हुन लागेको हो । प्रतियोतिगामा १० टिमले भाग लिनेछन् । सात प्रदेशबाट १–१ टिमसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबले भाग लिनेछन् ।
प्रतियोगिताका लागि विभागीय टोली तथा प्रदेशका टिमसँग समन्वय भइरहेको अध्यक्ष केसीले बताउनुभयो ।
‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारा दिइएको प्रतियोगिताले जिल्लाको खेलकुद र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।
साथै सो अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता समेत आयोजना हुने आयोजकले जनाएको छ । स्थानीय तहको सिफारिसमा सहभागी महिला टोलीबीच प्रतियोगिता हुनेछ । विजेताले ५५ हजार, दोस्रोले ३५ हजार, तेस्रोले १५ हजार र चौंथो हुनेले १० हजार जित्नेछन् ।
