ट्रम्पका यी घोषणाहरूले कति प्रभाव पार्छ विश्वलाई !

ट्रम्पका यी घोषणाहरूले कति प्रभाव पार्छ विश्वलाई !


  • 4.5K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.9K Views

    ट्रम्पका यी घोषणाहरूले कति प्रभाव पार्छ विश्वलाई !

    काठमाण्डौं, ८ माघ । भव्य अनि झन् अथाह शक्ति लिएर डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति भएका छन् । सोमबार राति अमेरिकाको ४७औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेसँगै उनले कैयौं कार्यकारी निर्देशनहरू जारी गरेका छन् ।
    यी निर्देशनहरू बाध्यकारी त हुँदैनन् तर ट्रम्पको शासनशैलीअनुसार अमेरिकी कानुनको अधीनमा रहेर उनका धेरैभन्दा धेरै आदेशहरू भने कार्यान्वयन हुनेछन् ।
    सपथ ग्रहणका बेला उनले कैयौ कुराहरू बोलेका छन् । तिनले अमेरिकामात्रै नभएर सिङ्गो विश्वका लागि धेरै अर्थ राख्दछन्। सारा विश्वले सबैभन्दा बढी चासो दिएको विषय हो ट्रम्पको आप्रवासन नीति । अवैधरुपमा अमेरिका छिरेर बसिरहेका करोडौं मानिसहरू छन् । तिनलाई आआफ्नो देशमा फर्काउनेदेखि अबका दिनमा सिमानामा कडाई गर्नेसम्मको नीति उनले अख्तियार गर्नेछन् । 
    त्यसका लागि उनले अमेरिका–मेक्सिको सिमानामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । योसँगै उनले अमेरिकामा अवैध प्रवेशलाई तुरन्त रोक्नका लागि कडा कदम चाल्नेछन् । त्यसका लागि सिमानामा सैनिक तथा सुरक्षाकर्मीहरूको संख्या बढाउन उनले निर्देशन दिइसकेका छन् ।
    यसअघिको कार्यकालमा उनले मेक्सिको सिमानामा पर्खाल लगाउने घोषणा गरेका थिए। तर त्यो भने कार्यान्वयन हुन सकेन । 
    ट्रम्पले अर्को महत्वपूर्ण सवाल पानामा नहरमाथि उठाएका छन्। त्यसमा चीनले प्रभुत्व जमाउन लागेको भन्दै अब उनले पानामा नहरको स्वामित्व खोस्ने नीति अपनाउनेछन् ।
    यसअघि देखि नै उनले पानामा नहरको सेवाशुल्क कम गर्न वा चिनियाँ नियन्त्रण हटाउन भनेका थिए । त्यसो नभए त्यो नहरको स्वामित्व अमेरिकाले लिनुपर्ने चेतावनी पनि उनले दिइसकेका छन् । 
    अमेरिकालाई नयाँ उचाईंमा पु¥याउन र अझ शक्तिशाली बनाउनका लागि उनले अब ग्रह तथा उपग्रहहरूमा अमेरिकाले नेतृत्व लिने घोषणा पनि गरेका छन् । त्यसका लागि उनले अमेरिकी सम्पत्तिको बढोत्तरीदेखि मंगलग्रहमा अमेरिकी झन्डा फहराउने बाचा गरेका छन् ।
    उनले आफ्नो यो कार्यकाल विश्वशान्तिका लागि बिताउने बताएका छन् । त्यसका लागि सुरुमा उनले मध्यपूर्वलाई शान्त पार्ने प्रयासहरू थाल्नेछन् । आफू सारा विश्वलाई जोड्ने नेता बन्ने उनको घोषणा छ ।
    अमेरिकामा चुलिएको महंगी तथा उर्जा संकटलाई सम्बोधन गर्नका लागि उनले ‘राष्ट्रिय उर्जा संकटकाल’ जारी गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । अमेरिकामा विश्वको सबैभन्दा धेरै तेल तथा प्राकृतिक ग्यास रहेको भन्दै अब उत्पादनमुखी नीति अख्तियार गर्ने बताएका छन् र यो अभियानलाई उनले ‘ड्रिल बेबी ड्रिल’ भन्ने नारा दिएका छन् ।
    आयातलाई विस्थापन गर्नका लागि उनले अब अमेरिकालाई ‘म्यानुफ्याक्चरिङ देश’ बनाउने नीति अवलम्बन गर्नेछन् ।

    images

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप