रोल्पा, ९ माघ । सुनिलस्मृति गाउँपालिका ७ तेवाङका केदारनाथ पौडेललाई हिजोआज अली भ्याइनभ्याई छ । सुन्तलाको सिजन सुरु भएसँगै उहाँ अहिले सुन्तला टिप्ने र बजार लगेर विक्री गर्ने काममा व्यस्त रहनु भएकाे छ । सुन्तला बजारका लागि तयार भएसँगै कार्तिक यता खासै फुर्सद नमिलेको उहाँले बताउनु भएको छ ।
कार्तिक लागे यता विहान सबेरै उठेर बजारमा सुन्तला विक्रिका लागि लैजानु हिजोआज केदारनाथको दैनिकी बनेको छ । उहाँ बिहान सबेरै उठेर करिब ३ घण्टाको पैदल यात्रा पार गर्दै डाेकामा सुन्तला बोकेर रोल्पा जिल्लाको एक मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित सुलिचौर बजारमा पुर्याउनु हुन्छ । साथै सुन्तला विक्री गर्न समयानुसार विभिन्न मेला महोत्सवहरुमा पुग्नुपर्छ पर्दछ । सुन्तलाले राम्रो उत्पादन दिन थालेपछि केहिवर्ष यता कार्तिक महिना देखि करिब फाल्गुन महिना सम्म यो काम दैनिकी नै भएको उहाँले बताउनु भएको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा लामो समय विभिन्न देश पुगेका उहाँ अहिले श्रम गरे देशमै राम्रो आम्दानी गर्न सकिने अनुभव हरुलाई दिने गर्नुभएको छ । करिब १४ वर्ष वैदेशिक रोजगारीको शिलशिलामा साउदी, दुवै, कतारमा काम गरेको अनुभव सुनाउदै उहाँले भन्नुभयो, “त्यहाँ गर्ने दुख देशमै गर्न सके देशमै मनग्य आम्दानी गर्न सकिन्छ ।” उमेरले ४१ वर्ष पुग्नु भएका उहाँ अहिले गाउँमै बसेर मनग्य आम्दानी गरिरहनु भएको छ । “सुन्तला विक्रीका लागि श्रीमान श्रीमती खटिएका छौँ, प्राय बजारमा सुन्तला लिएर म आउँछु त कहिले दुवै जना समय मिलाएर आउँछा” उहाँले तेस्रो आँखा सँगको कुराकानीमा भन्नुभयो, “परिवारमा चार सन्तान सहित हामी बुढाबुढी मात्र छौँ छोराछोरीहरु विद्यालय जानुपर्दछ त्यसकारण सुन्तला विक्रीका लागि समय मिलाउन भ्याइनभ्याई छ ।” गत वर्ष मात्र सुन्तलाको विक्रीबाट ३ लाख बराबरको आम्दानी गरेको केदारनाथले बताउनु भएको छ ।
यो वर्ष भने करिब साढे ३ लाख बराबरको आम्दानी हुन सक्ने उहाँको अनुमान रहेको छ । “अहिले बारीमा करिब ३ रोपनी क्षेत्रफलमा २ सय ५० भन्दा बढी बोट सुन्तला छन्।,” उहाँले भन्नुभयो, “ति मध्ये करिब १ सय ५० बोटहरुबाट राम्रो आम्दानी हुने गरेको छ।” जसमध्ये अझै धेरै सुन्तला विक्री गर्न बाकिँ भएको उहाँले बताउनुभयो ।
दोकामा सुन्तला बजार लिएर विक्री गर्दा राम्रो आम्दानी हुने गरेको केदारनाथकी श्रीमती जोखी पौडेलले बताउनु भएको छ । एक दोका सुन्तला विक्री गर्दा दिनमा करिब ७ हजार बराबरको आम्दानी हुने गरेको उहाँको भनाइ छ । “व्यापारीसँग सुन्तला विक्री गर्दा सस्तो मूल्यमै विक्री गर्नपर्ने हुन्छ, त्यसकारण हामी दैनिक बजार लिएर ग्राहक कुरेर विक्री गर्दछौँ” जोखी पौडेलले भन्नुभयो, ग्राहकहरुले हामीबाट प्रतिकेजी सय रुपैयँका दरले लिने गरेका छन् ।
पछिल्लो समय सुन्तलाको उत्पादनमा वृद्धि भएकाले लामो समयसम्म पनि सुन्तला बिक्री हुन नसकेको उहाँले बताउनु भएको हो । सुन्तलाको व्यावसायिक खेतिबाटै सन्तानलाई पढाउन साथै घरखर्च चलाउन पुगेको पौडेल दम्पतीले जानकारी दिनुभयो । सुन्तलालाई व्यावसायिक खेतिको रुपमा अंगालेर बाहिर निर्यात गर्न सके धेरैलाई स्वरोजगार बन्ने माध्यम बन्न सक्ने उहाँहरुको अनुभव छ ।
केदारनाथ मात्र होइन् सुलिचौर र रुइनिबाङ बजारका विभिन्न चोकचोकमा किसानहरुले सुन्तला विक्री गरिरहेको देख्न सकिन्छ । तेवाङ गाउँलाई पछिल्लो समय सुन्तला गाउँको रुपमा समेत लिने गरिन्छ । तेवाङ गाउँमा कति परिणाम बराबरको सुन्तला उत्पादन हुन्छ भन्ने यकिङ तथ्याङ्क नभएपनि यस गाउँका करिब ५०–६० घरधुरी पछिल्लो समय सुन्तलाको व्यावसायिक खेतिमा सक्रिय भएका छन् । सुन्तला खेतीबाट किसानले मनग्य आम्दानी गर्न सुरु गरेपछि धेरैले यसलाई व्यावसायिक खेतिकै रुपमा अघि सारेका छन् ।
भरत विश्वकर्मा
