काठमाडौं। नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका केही नयाँ सूचकहरू सार्वजनिक गरेको छ। बिगत छ महिनामा देशको समग्र आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रबैंकले देखाएका सूचकहरूले देशको अर्थतन्त्रलाई केही नयाँ संकेत पनि दिएका छन्।
यो बीचमा बजारमूल्य अर्थात महंगी थोरै बढेको देखिएको छ। हाल बजारमा ५.४१ प्रतिशत महंगी छ। गत वर्षको सोही महिनामा यस्तो भाउ ५.२६ प्रतिशत रहेको थियो । महंगीको यो दर सामान्य हो तर बजार मूल्य भने आकाशिइरहेको छ।
राष्ट्र बैंकका अनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.१९ प्रतिशत रहेको छ। गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षका यी छ महिनामा रेमिट्यान्स लगभग ४.१ प्रतिशतले बढेको छ। यो वृद्धि अघिल्लो वर्षको भन्दला निकै कम हो। रकममा भन्दा यी छ महिनामा लगभग सात खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो। गत आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो।
यो बीचमा लगभग २ लाख ३० हजार ४ सय ३९ जनाले नया र १ लाख ६२ हजार ६ सय २८ जनाले दोहोर्याएर वैदेशिक रोजगारका लागि श्रमस्वीकृती लिएका छन्। अघिल्लो वर्षको यस्तै अवधिमा नयाँ श्रम स्वीकृती लिने नेपालीको संख्या २ लाख ६ हजार ३ सय ९० थिए भने १ लाख ३३ हजार ९ सय ४०जनाले दोहोर्याएर श्रम स्वीकृति लिएका थिए।
यो आर्थिक आर्थिक वर्षको छ महिनामा मात्रै विदेशी मुद्रा (विनिमय) सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ। योसँगै गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
गत असारको तुलनामा पुससम्म विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो । अहिलेको अवस्थामा यही सञ्चितीबाट नेपालले १७.३ महिनाको वस्तु र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकको ठम्याइ छ।
यस्ताे छ राष्ट्र बैंककाे प्रतिवेदन
