पाेखरा। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सशंकित हुनुपर्ने वा डराउनुपर्ने कुनै कुरा र कारण नभएको बताएका छन्। पार्टीका जिल्ला सभापति तथा प्रशिक्षकहरूलाई पोखरामा सम्बोधन गर्दै उनले देशका महत्वपूर्ण परिवर्तनहरूमा आफूले ओलीसँग सँगै सहकार्य गरेको भन्दै अहिलेको अवस्थामा उनीसँग कुनै विरोधाभाष नरहेको पनि स्पस्ट पारे।
अहिलेको साझेदारी दीर्घकालसम्म रहे नेपालको राजनीतिले स्थिरता पाउने पनि उनको विश्वास छ।
नेपाली काँग्रेसले देशभरका जिल्ला सभापतिहरूलाई भेला गरेर पोखरामा प्रशिक्षण सुरु गरेको छ। उनीहरूलाई सम्बोधन गर्दै देउवाले ओलीसँग नझस्किन भनेका हुन्।
‘ओलीजी र हामी जेलमा पनि सँगै बसेका हौं। त्यहाँ धेरै दु:ख र कष्ट पनि थियो। जेल परेपछि त्यस्तै हो’ उनले भने ‘हामी मुख्य प्रतिष्पर्धी हौं। तर हामी उहाँसँग हामी डराउनुपर्ने अवस्था छैन। अविश्वास गर्नुपर्ने कुनै कुरा छैन।’
उनले नेपालको संविधान र निर्वाचन प्रणालीका कारण नेपालमा कुनै पनि राजनीतिक पार्टीले एकल बहुमत ल्याउन गाह्रो भइरहेको भन्दै दलीय सहकार्य र साझेदारी आवश्यक रहिरहने पनि बताए।
‘राजनीतिक स्थिरताका लागि हामीले सत्ता साझेदारी गरेका हौं। राजनीतिक स्थिरता नभएको खण्डमा कति दिन चल्ने हो कति दिनमा ढल्ने हो। केही थाहा हुन्न’ उनले भने ‘दुई पार्टी मिलेर अहिले सरकार बनाए पनि हामी दुई पार्टी प्रजातन्त्र र लोकतन्त्रका लागि सधैं सँगै लडेका साथीहरू हौं।’
