• ट्रेण्डिङ्ग :
अपर म्याग्दी–एक जलविद्युत आयोजनाको बाँध निर्माण सुरु

अपर म्याग्दी–एक जलविद्युत आयोजनाको बाँध निर्माण सुरु


  • 3.5K
    SHARES
    • फाल्गुण ७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.3K Views

    अपर म्याग्दी–एक जलविद्युत आयोजनाको बाँध निर्माण सुरु

    म्याग्दी, फागुन ७ । म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणधिन ५३ देशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक जलविद्युत आयोजनाले बाँध निर्माण सुरु गरेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेडद्वारा निर्माण थालिएको आयोजनाले धवलागिरी गाउँपालिका ४ खाम्लामा बाँध निर्माण सुरु गरेको हो ।

    images

    धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडा अध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थितिमा बुधबारदेखि बाँध निर्माण कार्यको सुरुवात गरिएको आयोजनाले जनाएको छ ।

    एक वर्ष अघि निर्माण थालिएको उक्त आयोजनाको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माण स्थल तयार पारेको हो ।

    म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण सुरु गरिएको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताउनुभयो ।

    उहाँका अनुसार वि.स.२०८३ फागुन २१ गते विद्युत उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनामा अहिलेसम्म १६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

    वि।स। २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरू भएको एक सय ९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को प्रवेशमार्ग सुरुङ खनेर थप पाँच सय ३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिनुभयो ।

    पाँच किलोमिटर सात सय मिटर सुरुङ मध्य केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरू गर्ने तयारी गरिएको आयोजना प्रमुख केसीले बताउनुभयो ।

    सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत् जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँ लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।

    भारवाङदेखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेसनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रीय लाइनमा जोडिने छ ।

    रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाई १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । 

    आयोजना निर्माणले पश्चिम म्याग्दीमा जलविद्युत विकासको ढोका खोल्नुका साथै स्थानीय स्तरमा रोजगारीको सिर्जनागरेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । जलविद्युत आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न पालिकाका तर्फबाट साथ,सहयोग र सहजिकरण गर्ने उहाँको भनाइ थियो ।


    तेस्रो आँखा