काठमाडौं, १ चैत। उदयपुरको बेलका नगरपालिका–५ घुम्नेकी नौ वर्षीया नाबालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बेलका नगरपालिका– ५ घुम्ने लालीगुँरास टोलका करिब ३५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
नाबालिकालाई खत्रीले प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेको आरोप छ। घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि सार्वजनिक भएको बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काले जानकारी दिए।
खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेको खुलेको छ। पछिल्लो पटक घटना बारे नाबालिकाले घरमा जानकारी दिएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका हुन्प। जाहेरीपछि खत्रीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको हो।
घटना सार्वजनिक भएसँगै पक्राउ परेका खत्रीलाई अनुसन्धानका लागी जिल्ला अदालत उदयपुरबाट मंगलवार ७ दिनको म्याद थप गरिएको छ । नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
