रोल्पा । यहि फागुन १० गतेदेखि रोल्पाको लिबाङमा सुरु भएको सनस्टार कप दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
बुधवार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ अङ्कले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच ४ खेल भएकोमा २५–१८, २०–२५, २५–१४ र २५–२३ को अङ्क अनुपातमा पुलिस क्लबले जित निकालेको हो । योसँगै नेपाल पुलिस क्लबले ५ लाख र सनस्टार कप हात पारेको छ । फाइनलमा पराजित त्रिभुवन आर्मी क्लबले दुई लाख ५० हजारमा चित्त बुझायो ।
यसैगरी, बुधबार बिहान कोशी र लुम्बिनी प्रदेशबिच भएको खेलमा कोशीले लुम्बिनीमाथि चौथो खेलको अनुपातमा तीन अङ्क आफ्नो पक्षमा पार्दै जित निकाल्यो । कोशी र लुम्बिनीबिच २६–२४, १६–२५, २५–१६ र २८–२६ को अंकभार रहेको छ । योसँगै कोशी प्रदेश तेस्रो र लुम्बिनी प्रदेश चौथो भएका छन् । तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ जितेको सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए ।
सनस्टार युवा क्लब रोल्पाको १३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा चार प्रदेश, दुई विभागीय टिम र आयोजक गरी जम्मा ७ टिमको सहभागीता रहेको थियो ।
