तुलसीपुर, २७ फागुन । गत फागुन १ गतेदेखि १८ गतेसम्म संचालन भएको तुलसीपुर महोत्सवले ३४ लाख ६१ हजार तीन सय रकम भुक्तानी गर्न बाँकी रहेको छ । महोत्सवमा विभिन्न शिर्षक मार्फत काम गरेका १० जना व्यवसायिहरुले आजसम्म पनि आफ्नो रकम भुक्तानी पाएका छैनन् ।
मंगलबार रिपोर्टर क्लब दाङमा पत्रकार सम्मेलन गर्दै महोत्सवको भुक्तानीबारे पिडित व्यवसायीहरुले जानकारी गराएका थिए । काम सुरु गर्दा महोत्सव सुरु भएको आठौं दिनमा सबै रकम भुक्तानी गर्ने सम्झौता भएको थियोे । साथै अहिलेसम्म रकम भुक्तानीमा आयोजकहरुले आनाकानी गरिरहेको पिडित व्यवसायीहरुले बताउँछन् ।
तुलसीपुर महोत्सवमा जग बहादुर वलीले ग्रिल सम्बन्धि समान दिएको ४ लाख ४४ हजार, टंक प्रसाद खड्काले छापाखानाको काम १ लाख ३४ हजार, तारा प्रसाद भुसालले होटलमा खाना खुवाएको ९० हजार, देव बहादुर विकले गाडीमा समान ओसारपसार गरेको २४ हजार, दिवेदक विनोद कामीले समान तथा काम गरेको १ लाख ४३ हजार ८ सय, सन्तोष खड्काले वाइरिङ सम्बन्धि समान दिएको ४ लाख, गोरख वलीले जस्ता पाता र पाइप दिएको ४ लाख, प्रभात चौधरीले साउण्ड सम्बन्धि समान दिएको ६० हजार, सुदन चौधरीले वाइरिङ गरेको ४२ हजार, सोमराज खत्रीले मेलाको प्रचारप्रसार गरेको १ लाख ८३ हजार ५ सय, गणेश प्रसाद पन्तिले टेन्ट सम्बन्धि काम गरेको १६ लाख ४४ हजार गरि जम्मा ३४ लाख ६१ हजार तीन सय रुपैयाँ महोत्सवले भुक्तानी गर्न बाकी रहेको छ । साथै ठेकेदार घनश्याम श्रेष्ठ र भरत वलिले समेत खटाएर काम गराएको पिडित व्यवसायीहरुले बताउँछन ।
पिडित व्यवसायि गणेश प्रसाद पन्तिले चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले आफुसंग भुक्तानीको रकम नमाग्न आग्रह गरेको बताउनुभयो । महोत्सवबाट १६ लाख ४० हजार रुपैयाँमा १ लाख रुपैयाँ भुक्तानी पाइसकेको र १५ लाख ४० हजार रुपैयाँ भुक्तानी हुन बाकी रहेको उहाँको भनाइ छ । आफ्नो पैसा फिर्ता गर्नका लागि कानुन बमोजिम कागजातहरु तयार गरि सम्बन्धित निकायमा जादा पनि सम्बन्धित निकायहरुले कुनै किसिमको चासो नदेखाएको उहाँको गुनासो रहेको छ ।
पिडित व्यवसायी अर्जुन केसीले चेम्बर अफ कमर्सको अध्यक्षले चाहेमा आफुहरले पैसा भुक्तानी पाउन सक्ने र नचाहने भुक्तानी नपाउने बारे विश्वस्त रहेको बताउनुभयो । भुक्तानी नपाउनुमा सबैभन्दा ठुलो हात चेम्बर अफ कमर्सका अध्यक्षको रहेको पिडित व्यवसायहरु बताउँछन् ।
दाङमा दोस्रो तुलसीपुर महोत्सव फागुन १ गतेदेखि १८ गतेसम्म संचालन भएको थियोे । महोत्सवमा ८ हजार ५ सय ३६ वटा स्टलहरु रहेका थिए । महोत्सव दुई दिन थप गरेता पनि जिल्ला प्रशासन कार्यालय दाङले समापनको पत्र पठाए पश्चात् महोत्सव सम्पन्न भएको हो ।
