काठमाडौं, ४ चैत । आईसीसी विश्वकप लिग टूमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ ।
दुवई अन्तर्राष्ट्रिय रंगशालमा टस हारेर पहिले फिल्डिङ रोजेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटीङमा सम्हालिन नसक्दा हार बेहोर्नु परेको हो ।
युएईले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय २० रनमै अलआउट भयो ।
नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । यसबाहेक ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आशिफ शेखले ७, कप्तान सन्दीप लामिछानेले ७, करण केसीले ६ र सोमपाल कामीले ६ रन जोडे । यस्तै दिपेन्द्रसिंह ऐरी चार रनमा आउट हुँदा सागर ढकाल शुन्यमा अविजित रहे । आरिफ शेख पनि शुन्यमै आउट भएका थिए ।
नेपाललाई सस्तोमा समेट्न युएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । पाँच ओभर बलिङ गरेका हमेदले एक मेडन राख्दै १५ रन खर्चिए ।यस्तै, जुनैद सिद्दिकीले दुई विकेट लिँदा जहुर खान र रोहन मुस्तफाको नाममा एक एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङमा आएको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो ।
युएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाएका थिए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाएका थिए ।
नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए । यसबाहेक, करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट लिएका थिए ।
यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।
डिभिजन २ मा १० खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको युएईले १६ खेलबाट २० अंक जोडेको छ ।
